लोडसेडिङ मैले हटाएको हो – नेता रायमाझी


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८
6.7K
SHARES

२८ साउन काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेपालको लोडसेडिङ हटाउन आफ्नो मुख्य योगदान रहेको दाबी गरेका छन् । रायमाझीले भने, मैले प्रचार नगरेर हो, नेपालको लोडसेडिङ अन्त्य गराउन मेरो मुख्य भूमिका छ ।

उनले आफू ऊर्जामन्त्री रहँदा नै कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउन भूमिका खेलेको उनले दाबी गरे । कुलमान घिसिङलाई मैले ल्याउनका लागि तीन महिनासम्म इभ्यालुएसन गराएँ, रायमाझीले भने, उहाँलाई पास गराएर, विद्युत प्राधिकरणको एमडी बनाउन मैले भूमिका खेलेको हुँ । ९९ बुँदे मास्टर प्लान बनाउँदा उहाँलाई मैले सदस्य बनाएको हुँ ।उनले आफूले गरेको इभालुएसनका आधारमा कुलमान एमडी भएको बताए ।

उहाँले राम्रो काम गर्नुभएको हो, रायमाझीले भने, ४ वर्षे कार्यकाल पूरा गरेर उहाँ जानुभएको हो । त्यसपछिको नेतृत्व लिन हितेन्द्रदेश शाक्य तयार भएर बस्नुभएको हो । अहिले पुनः उहाँलाई विद्युत प्राधिकरणमा ल्याउने काम राजनीतिक कदम मात्र हो, रायमाझीले भने ।रायमाझी केपी शर्मा ओलीको पहिलो र पछिल्लो दुवै सरकारका ऊर्जामन्त्री रहिसकेका छन् । उनको पालामा १८ घण्टासम्म देशमा लोडसेडिङ हुने गर्दथ्यो ।

उनले मन्त्रालय छोडेपछि तत्कालीन पुष्पकमल दाहाल प्रचण्डको सरकारमा जनार्दन शर्मा ऊर्जामन्त्री बने ।शर्माले कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्तिको सिफारिस गरेका थिए । घिसिङ प्राधिकरणमा आएको ३ महिनापछि देश लोडसेडिङमुक्त भएको थियो ।