आज एउटै मञ्चमा प्रचण्ड, नेपाल र डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ३ २०७८
5.4K
SHARES

३ भदौ काठमाडौं। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य वामदेव क्षेत्रीद्वारा लिखित ‘कृषि र समाजवाद’ नामक पुस्तकको संयुक्त विमोचनका लागि तीन पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा देखिँदैछन्।

बिहीबार दिउँसो समाजवादी केन्द्रले आयोजना गरेको पुस्तक विमोचन र अन्तरक्रिया कार्यक्रममा तीन शीर्ष नेताहरू एउटै मञ्चमा देखिन लागेका हुन्। कार्यक्रममा उनीहरूले समाजवादबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्।

पछिल्लो समय वैचारिक र भावनात्मक रूपमा निकट देखिएका तीन शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई एउटै मञ्चमा उभिन लागेका हुन्। तीन नेता एकै मञ्च देखिने भएपछि कार्यक्रमलाई चासोका साथ हेरिएको छ।

बुधबार मात्र नेकपा (एमाले) बाट विद्रोह गरी वरिष्ठ नेता नेपालले नयाँ पार्टी दर्ता गराएका छन्। नयाँ पार्टी गठनपछि एक विज्ञप्ति जारी गर्दै नेता नेपालले समाजवादका लागि सिद्धान्तनिष्ठ एकताको आवश्यकतामा जोड दिएका छन्। उनले विज्ञप्तिले आफूहरू फेरि कम्युनिस्ट एकताको पक्षमा उभिने संकेत गरिसकेका छन्।

यता जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले समाजवादका लागि साझा मोर्चा आवश्यक रहेकोमा जोड दिँदै आएका छन्। परिवर्तनकारी शक्तिहरू विभाजित हुँदा दक्षिणपन्थीहरूले फाइदा उठाएको भन्दै भट्टराईले फेरि ध्रुवीकरणको अभियान थाल्नुपर्ने बताउँदै आएका छन्।

एमाले र माओवादी केन्द्रको एकता गरी नेपालमा समाजवादी क्रान्तिको तयारी गर्ने सपना बोकेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिस्ट र वामपन्थी शक्तिहरूबिच एकता र सहकार्यमा जोड दिँदै आएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण कम्युनिस्ट आन्दोलन विसर्जित हुने खतरा रहेको भन्दै प्रचण्डले त्यस्तो खतरालाई चिर्न पनि एकता अपरिहार्य रहेको बताउँदै आएका छन्।

सम्भवतः बिहीबार एउटै मञ्चमा उभिएर प्रचण्ड, नेपाल र भट्टराईले एकता र सहकार्यका निम्ति अग्रसर रहने उद्घोष गर्नेछन्। यसकारण पनि बिहीबारको अन्तरक्रियालाई अर्थपूर्ण रूपमा हेरिएको छ।