यी ३ कारण नेपाललाई साथ दिन सकिनँ – नेता विष्ट
३ भदौ काठमाडौँ । आज एमालेका सचिव गोकर्ण विष्टले पार्टी विभाजनको चरणमा आफ्ना नेता माधवकुमार नेपालको साथ छाडेका छन् । पार्टी भित्रको अन्तरसंघर्षमा उनी माधव नेपाल पक्षमा बलिया खम्बा हुन् ।
जीवनभर नेपाल निकट भएर पार्टी अन्तरसंघर्षमा साथ दिएका विष्ट अन्तत केपी शर्मा ओलीको पक्षमा उभिए । माधव नेपालका लागि जीवनकै कठिन दिनमा उनका विस्वासिला नेताहरुले साथ छाडेका छन् । त्यसैमध्येका एक हुन्, गोकर्ण विष्ट ।
विष्टले किन पार्टी विभाजन हुँदा नेपाललाई साथ दिन सकेनन् । उनले मुख्य गरी तीन कारण देखाएका छन् ।
नेपालवाचसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, पार्टी २०७५ जेठ २ मा फर्कने की नफर्कने भन्ने विषयमा हामीभित्र अन्तरसंघर्ष शुरु भएको हो । हामी पार्टी २०७५ जेठ २ को स्थितीमा फर्कनु पर्छ भन्नेमा थियौँ ।
हाम्रो माग सम्बोधन गर्नकै लागि पछि कार्यदल बन्यो । कार्यदलले जेठ २ मा फर्कने गरी १० बुँदे सहमति ग¥यो । त्यसमा ओलीजी र नेपालजीले पनि सहमति जनाउनु भएको हो ।
त्यो सहमतिलाई पार्टीले स्वामित्व ग्रहण गर्यो ।
१० बुँदे सहमतिसँगै अन्तरविरोधहरु मत्थर भएका थिए । त्यसपछि त्यसको कार्यान्वयनको कुरा थियो । समस्या समाधानतर्फ उन्मुख थियो । पार्टी विभाजन नै गर्नुपर्ने गरी समस्या थिएन ।
पार्टीभित्र यस्ता अन्तरसंघर्ष हुन्छन् । यस्ता अन्तरसंघर्ष हुनुको अर्थ पार्टी विभाजन गर्नु होईन । हामी अन्तरसंघर्षसँगै हामी पार्टी एकता कायम राख्ने पक्षमा थियौँ । यो कुरा बारम्बार माधव नेपालसँग पनि भनेको हो ।
हामी १० बुँदे कार्यान्वयन गरेर पार्टीभित्रै लड्नुपर्छ भन्नेमा थियौँ । तर उहाँले जुन बाटो लिनुभयो । त्यो समग्र कम्युनिष्ट आन्दोलनको हित विरुद्ध छ । हिजो हामीले केपी शर्मा ओलीको सरकारले ल्याएको दल विभाजन सम्वन्धी अध्यादेशको विरोध गर्यौ । अहिले फेरी त्यो भन्दा पनि विकृत रुपमा अध्यादेश आउँदा समर्थन गरेर जान सक्ने कुरा पनि ठिक होईन ।