नेपालको साथ ‘छोडेका’ नेताहरूको निकाले यस्तो निष्कर्ष
४ भदौ काठमाडौं । आज माधव नेपालको साथ ‘छोडेका’ एमालेका नेताहरूले एकताको प्रयास जारी राख्ने निष्कर्ष निकालेका छन् । महाराजगञ्जस्थित एक पार्टी प्यालेसमा बसेको नेताहरूको भेलाले कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको नेता गोकर्ण विष्टले जानकारी दिए ।
“हामी एमाले एकताका पक्षधर हौँ । हामी पार्टी एकताका लागि प्रयासरत छौँ ।आजको भेलाबाट दलविभाजनसम्बन्धी अध्यादेशको विरोध गर्ने, १० बुँदे सहमति कार्यान्वयनका लागि आग्रह गर्ने, माधव नेपालसहितका नेताहरूलाई दल दर्ताको प्रक्रियाबाट फर्किन आग्रह गर्ने निष्कर्ष निकालेका छौँ,” उनले भने ।
नेता भीम रावलले पनि १० बुँदे सहमति तत्काल कार्यान्वयन हुनुपर्ने र पार्टी दर्ता प्रक्रिया राेकिनुपर्ने बताए । उनीहरूले दल विभाजन सम्बन्धी अध्यादेशले अस्थिरता सिर्जना गरेको पनि निष्कर्ष निकालेको छन् ।
नेता विष्टका अनुसार भेलामा केन्द्रीय सदस्य र सांसद गरी करिब ५७ जनाको उपस्थिति रहेको थियो ।