नेपाल पक्षबाट यी हुन् सम्भावित मन्त्रीहरु
६ भदौ काठमाडौ । माधव कुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टी सरकारमा सहभागी हुने तयारीमा जुटेको छ । माधव नेपाल नेतृत्वको पार्टीलाई कुन मन्त्रालय दिने भन्ने विषयमा गठबन्धनमा छलफल हुन थालेको छ ।
एक स्रोतका अनुसार माधवको नयाँ पार्टीले ६ मन्त्रालय पाउने पक्का भइसकेको छ । निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्ने छन ।
देउवा नेतृत्वको सरकारमा नेपाल नेतृत्वको पार्टीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठको नाम चर्चामा रहेको छ । स्रोतका अनुसार नेता नेपालले वेदुराम भुसाललाई आफ्नो दलको तर्फबाट नेतृत्व गर्दै सरकारमा पठाउने भएका छन । भुसाल राष्ट्रिय सभा सदस्य हुन ।
भुसालसँगै अर्का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेको नाम पनि चर्चामा रहेको छ । माधव नेपाल एमालेमा रहँदा देउवालाई विश्वासको मत दिएका थिए ।
एमालेमा विवाद कायम रहँदा सरकारमा सहभागी हुने विषयमा माधव समूहले निर्णय गर्न सकेका थिएनन् । अहिले नयाँ पार्टी गठन गरेसँगै सरकारमा जाने बाटो खुलेको हो ।