चन्द्रागिरिबाट नेपालले गरे यस्तो उद्धघोष
७ भदौ काठमाडौं । आज आफू पक्षीय नेताहरूसहित चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले ‘वार्ता र सहमति’ मा भ्रम छर्ने काम भइरहेको बताएका छन् । साँझ सामाजिक सञ्जाल फेसबुकबाट नेता नेपालले आफूहरूले नयाँ पार्टी गठनको प्रक्रिया अगाडि बढाइरहेका बेला ‘वार्ता र सहमति’ का नाममा भ्रम छरिएको बताएका हुन् ।
“दक्षिणपन्थी विसर्जनवाद, विकृति, अन्याय र विसंगतिकाविरूद्ध विद्रोह गर्दै कम्युनिस्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्,” नेता नेपालले भनेका छन् । उनले आफूहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गरिरहेकाले त्यसमा लृढतापूर्वक उभिन आह्वानसमेत गरेका छन् ।
“नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु,” उनले भनेका छन् । साेमबार नै प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू काठमाडौंको चन्द्रागिरि रिसोर्टमा पुगेका हुन् ।