आज मन्त्रिपरिषद विस्तार टुंगिदै , सत्ता गठबन्धनको बैठक बस्दै
१५ भदौ काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजे बस्न लागेको हो । मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत पुरा गर्नका लागि आजको बैठक केन्द्रित हुने बालुवाटार स्रोतले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुबीच छलफल हुने छ ।
माओवादी केन्द्रका नेता गणेश साहका अनुसार मन्त्रालय बाँडफाँटको टुंगो पनि आजै लाग्ने छ । उनले भने, ‘माधव नेपाल र जसपाको कानुनी र प्राविधिक प्रक्रिया सकिएको छ । आज बाँडफाँडसहित आन्तरिक रुपमा मन्त्री टुंगिएर मन्त्रिपरिषद विस्तार हुन्छ ।’
यसअघि सोमबार पनि सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । मन्त्री छान्न जिम्मेवारी पाएका पाँचै दलका शीर्ष नेताहरुले मन्त्री छान्ने काम गरिरहेका छन् ।
शीर्ष नेताहरुको आजको बैठकले सहमति जुटाएर मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने र भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।