सरकारले दार्चुला घटनामा लाचारी देखायो – एमाले
१७ भदौ काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले दार्चुलाको तुइन घटनालाई सरकारले थामथुम पार्न खोजेको भन्दै आपत्ति जनाएको छ। प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गर्दै छानबिन गर्न गठित समितिको म्याद पटक-पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार घटनालाई थामथुम गर्ने प्रयासमा लागेको बताएका हुन्।
साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन चुँडाइदिएर जयसिंह धामी बेपत्ता भएका थिए। उक्त घटनामा सरकारले लाचारी देखाएको एमालेको आरोप छ। ज्ञवालीले नागरिक धामी बेपत्ता पारिएको संवेदनशील विषयका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहलसमेत सरकारले गर्न नसेको आरोप लगाएका छन्।
‘आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै नेकपा (एमाले) यस अविलम्ब घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ।’
