एमाले प्रवक्ताबाट नेता भट्टराई ‘आउट’ !


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १८ २०७८
4.5K
SHARES

१८ भदौ काठमाडौं। अहिले एमालेभित्र फेरि विवाद देखा परेको छ। एमाले प्रवक्ताबाट ‘तेस्रो धार’का नेता योगेश भट्टराईलाई हटाइएपछि पुनः विवाद देखा परेको हो। बिहीबार दार्चुलाको तुइन घटना प्रकरणमा एमालेको प्रवक्ताको हैसियतमा प्रदीप ज्ञवालीले जारी गरेका छन्। पार्टीका संरचना पुरानै अवस्थामा रहने आन्तरिक सहमतिअनुसार एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई हुन्।

एमालेमा प्रवक्ता भन्ने छुट्टै पद नभएकाले प्रचार विभाग प्रमुखले नै पार्टीका निर्णयबारे मिडियालाई जानकारी गराउने अनि सार्वजनिक चासोका विषयमा विज्ञप्ति निकाल्ने चलिआएको अभ्यास छ। यही आधारमा प्रचार विभाग प्रमुखलाई नै एमाले प्रवक्ता भन्ने गरिएको छ। तर, दार्चुला घटनाबारे ज्ञवालीले पार्टी प्रवक्ताको हैसियतमा प्रेस विज्ञप्ति निकालेसँगै एमालेमा यसअघि भएको आन्तरिक सहमतिको औचित्यलाई लिएर विभिन्न टिप्पणी हुन थालेको छ।

२०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलाबाट पार्टी पुनर्जीवित बनेपछि पार्टी अध्यक्ष केपी ओलीले एमाले प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिएका थिए। त्यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपामा ओली निकट समूहको प्रवक्ताको जिम्मेवारी पनि ज्ञवालीलाई नै दिइएको थियो। त्यसयता ज्ञवालीले नै पार्टी प्रवक्ताका रूपमा काम गर्दै आएका थिए। १० बुँदे सहमति र भदौ ८ को स्थायी समिति बैठकको निर्णयअनुसार भट्टराईले पुरानो जिम्मेवारी (प्रवक्ता) पाएको बताइएको थियो।

पार्टीको आन्तरिक एकता जोगाउनभन्दै गत २७ असारमा एमाले दोस्रो पुस्ताका नेता र अध्यक्ष केपी ओलीबीच १० बुँदे सहमति भएको थियो। त्यसमा पार्टीका संरचना २ जेठ २०७५ कै अवस्थामा कायम रहने समझदारी थियो। ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिस्ट पार्टी गठन हुनु पूर्व २०७५ साल जेठ २ को (जेठ ३ को केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट हुनेछन्,’ सहमतिमा भनिएको छ।

१० बुँदे सहमतिलाई भदौ ८ मा बसेको स्थायी समिति बैठकले अनुमोदन गरेसँगै भट्टराई स्वतः एमाले प्रचार विभाग प्रमुखको हैसियतमा फर्किएका थिए। त्यति बेला स्थायी समिति बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले पार्टी पुरानै संरचनामा फर्किएको र आफूलाई प्रवक्ताको हैसियतमा प्रस्तुत गर्न खोजेका थिए। तर, ज्ञवालीले फेरि प्रवक्ताको हैसियतमा विज्ञप्ति जारी गरेपछि एमाले तेस्रो धार सशंकित बनेको छ।