आन्दोलन दबाउने कुनै पनि हुकुम र आदेश मानिदैन – उपाध्यक्ष बस्नेत
२१ भदौ काठमाडौं। आज अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले राष्ट्रवादी आन्दोलन दबाउने गृह मन्त्रालयको फर्मान अवज्ञा गर्ने बताएका छन्। बस्नेतले राष्ट्रिय स्वाधीनताका निम्ति हुने आन्दोलन दबाउने गृह मन्त्रालयको आदेश खारेज गर्ने दाबी गरे।
गृह मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिमाथि गम्भीर आपत्ति प्रकट गर्दै बस्नेतले भने, ‘नेपालको देशभक्तिपूर्ण विद्यार्थी आन्दोलन गृह मन्त्रालयको स्वीकृति पत्र लिएर न त हिजो भएको थियो, न आज हुन्छ न भोलि नै हुनेछ।’
बस्नेतले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मामिलामा विद्यार्थी आन्दोलन सम्झौताहीन ढंगले अघि बढ्ने बताएका छन्। उनले भने, ‘राष्ट्रियता दुःखेको वेला आन्दोलन दबाउनका लागि गृह मन्त्रालयद्वारा जारी गरिने कुनै पनि आदेश र फर्मान हामीलाई अस्वीकार्य छ।’
उनले देशभक्तिको आन्दोलन दबाउने कुनै पनि हुकुम र आदेश नमान्ने बस्नेतले जिकिर गरे। उनले भने, ‘हामी त्यस्ता आदेशहरू खारेज र अवज्ञा गर्न चाहन्छौं।’