धरहरा उद्घाटनमा हतारो , ४३ प्रतिशत काम अझै बाँकी


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २५ २०७८
8.3K
SHARES

२५ कात्तिक काठमाडौं । उद्घाटनपछि धरहरा पुनर्निर्माणको काम लगभग ठप्पप्रायः छ । २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उदघाटन गरेका थिए । त्यसपछि सरकारले खासै चासो नदिएपछि पुनर्निर्माणको गति सुस्ताएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको काम (भौतिकतर्फ) अझै करिब ४३ प्रतिशत बाँकी छ । उद्घाटनका बेलासम्म आयोजनाबाट १ अर्ब ६४ करोड लिइसकेको निर्माण कम्पनी रमण कन्सट्रक्सनले ६ महीनामा मुस्किलले १० करोड रुपैयाँ थप बुझेको छ ।

प्राधिकरणका एक प्राविधिकका अनुसार उद्घाटनसम्म ५४ प्रतिशत रहेको वित्तीय प्रगति अहिले ५६ प्रतिशत मात्रै नाघेको छ । वित्तीय विवरणको प्रगतिका आधारमा ६ महिनामा आयोजनामा साढे २ प्रतिशत मात्रै काम भएको देखिएको उनले बताए ।

प्राधिकरणका प्रवक्ता मनोहर घिमिरे उद्घाटनपछि धरहराको निर्माण सुस्ताएको स्वीकार्छन् । ‘हामी पनि प्राधिकरण विघटन गर्न आवश्यक कामतिर बढी व्यस्त भयौं, उद्घाटनपछि धरहरामा पहिलेजसरी काम नभएको सत्य हो,’ उनले भने ।