नेता पुनको स्वास्थ्य गम्भीर, थप उपचार चीनमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १० २०७८
6.4K
SHARES

१० मंसिर काठमाडौं । अहिले नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्डबाट चीन लगिएको छ ।

डेढ महिनादेखि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका नेता पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो । पुन विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित छन् । बैंककमा गराइएको उपचारबाट उल्लेख्य सुधार नभएपछि थप उपचार गर्न शुक्रबार चीन लगिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन् । उनीहरु आजै मध्याह्न अस्पताल पुगेर उपचार सुरु हुने चापागाईंले जानकारी दिए ।

जण्डिसले सताएपछि नेता पुनलाई गत असोज १३ गते बैंकक लगेर समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँका चिकित्सकहरुले अब योभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार पनि नदेखिएको भन्दै चीनको सेनजेन लैजान सुझाव दिएका थिए ।

काठमाडौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाईंले बताएका छन् ।