यी ९ देशबाट नेपाल आउन प्रतिबन्ध
१६ मंसिर काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमीक्रोन’ विरुद्ध प्रतिकार्य योजना लागू गर्दै दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ ।
बिहीबार रातिदेखि लागू हुने गरी दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिविया, लोसोथो, इसवाटिनी, मोजाम्विक, मलावी र हङकङबाट नेपाल आउन रोक लगाइएको हो ।
सोमबारको मन्त्रिपरिषद् बैठकले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिन नदिन तथा त्यस विरुद्ध प्रतिकार्य योजना लागू गर्ने गर्ने ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश–२०७८’ जारी गरेको थियो । सोही आदेशअनुसार दक्षिण अफ्रिकासहित ९ मुलुक र ती मुलुकहरुलाई ट्रान्जिट बनाएर नेपाल आउन रोक लगाइएको र त्यसको कार्यान्वयनका लागि सम्बन्धित संयन्त्रलाई परिपत्र गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।