चार लाख मतदाता थपिए


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस ५ २०७८
6K
SHARES

५ पुस काठमाडौं । निर्वाचन आयोगले सञ्चालन गरेको पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख मतदाता थपिएका छन्। निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरबाट चार लाख सात हजारको नामावली दर्ता भएको छ। पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली संकलन गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। हिमाली जिल्लाको बाँकी रहेको पालिकामा मङ्सिर २९ गतेबाट नै दोस्रो चरणको नामावली दर्ता सुरु भइसकेको छ।

हिमाली जिल्लाका पालिकाहरूमा पुस ९ गते नामावली दर्ताको विशेष अभियान सकिनेछ। मङ्सिर १७ गतेदेखि निर्वाचन आयोगले देशैभरिको पालिकामा पुुगेर मतदाता नामावली दर्ता विशेष अभियान सञ्चालन गरेको थियो।

दोस्रो चरणमा हाल ३१८ पालिकामा मतदाता नामावली दर्ता कार्यक्रम भइरहेको निर्वाचन आयोगले जनाएको छ। तराई मधेसका अधिकांश पालिकाले भने म्याद थप्न आग्रह गरेका छन्। आयोगका प्रवक्ता पौडेलले विशेष अभियान अतिरिक्त इलाका प्रशासन, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा चुनावको घोषणा नभएसम्म मतदाता नामावली दर्ता कार्यक्रम जारी नै रहने भएकाले छुटेका उम्मेदवारलाई पायक पर्ने स्थानमा गएर दर्ता गराउन आग्रह गरेका छन्।

आयोगले विशेष अभियानमार्फत करिब १० लाख मतदाता थपिने अनुमान गरेको छ। आयोगले १६ वर्ष उमेर पुुगेका नेपाली नागरिक मतदाता नामावली दर्ता अभियानमा विवरण संकलन गर्दैछ तर आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूूरा गर्ने व्यक्ति मात्रै मतदानका लागि योग्य हुनेछन्। आयोगको गत चैत्त महिनाको तथ्याङ्क बमोजिम नेपालमा हाल एक करोड ६२ लाख ४३ हजार ११० जना मतदाता कायम छन्।