आठ लाख मतदाता थपिए


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १९ २०७८
14.8K
SHARES

१९ पुस काठमाडौं। निर्वाचन आयोगले पछिल्लोपटक चलाएको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा झण्डै आठ लाख मतदाता थपिएका छन् ।आगामी निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन अभियान चलिरहँदा अहिलेसम्म ७ लाख ९३ हजार ७ सय ५५ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत मंसिर १७ देखि देशब्यापी रुपमा मतदाता नामावली संकलन अभियान चलाएको छ ।

संकलित तथ्यांकमा युवाको संख्या मात्रै करिब ६ लाख रहेको आयोगले जनाएको छ । यसअघि कुल मतदाता संख्या १ करोड ६० लाख हाराहारी थियो ।

आयोगले अहिले पनि २ सय २५ स्थानमा नामावली संकलन जारी राखेको छ । स्थानीय तह स्तरमा भएको नामावली संकलन कार्य सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । स्थायी ठेगानाभन्दा फरक स्थानमा बसोबास गर्ने २८ हजारले पनि नाम दर्ता गराएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार इलाका र जिल्ला प्रशासन, निर्वाचन कार्यालयमा सार्वजनिक बिदाको दिनबाहेक नामावली दर्ता गराउन सकिने जनाएको छ ।चुनावको मिति घोषणा नभएसम्म नामावली संकलन जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहको निर्वाचन आउँदो वैशाख १४ देखि २२ सम्म गर्न सरकारलाई प्रस्ताव गरेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि ०७९ फागुन २० भित्र गरिसक्नुपर्नेछ ।