बलिदानलाइ विज्ञापन बनाउनु सहिदप्रतिकाे अपमान र गद्धारी हाे : विश्वमञ्च
१४ फागुन काठमाडौं । मालेमाका लागि विश्वमञ्चले जनयुद्धकाे महान लक्ष्य पूरा नभएसम्म महान सहिदहरुकाे रगत र सपनाले सार्थकता नपाउने भन्दै सहिदहरुकाे सपना मर्न नदिने प्रतिबद्धता जाहेर गरेकाे छ ।
२०५२ साल फाल्गुन १४ गते आजकै लिन तत्कालीन राज्यद्धारा माओवादी जनयुद्ध दबाउने नाममा गाेरखका १४ बर्षिया बालक दिलबहादुर रम्तेलको निर्ममता पुर्वक हत्या गरेकाे थियाे ।
माओवादी घटकले आजकाे दिन अर्थात फागुन १४ देखि २१ गतेसम्म साताव्यापी सहिद सप्ताह मनाउदै आइरहेका छन् । यसैसन्दर्भमा मञ्चका संयाेजक लाेकेश बिश्वकर्माले एक विज्ञप्ति प्रकाशित गर्दै महान जनयुद्धका सहित तथा बेपत्ता योद्धाहरुकाे बलिदानकाे जगमा सम्भव भएको परिवर्तन नाफाकाे राजनीतिक गर्नेका लागि मसला मात्रै भएको भन्दै खेद प्रकट गरेका छन् ।
विज्ञप्तिमा भनिएकाे छ ‘जसको बलमा परिवर्तन संभव भयो आज तिनै सहिद तथा बेपत्ता योद्धाहरुका सपना माथी निर्मम हमला र घात भएको छ । घाइते योद्धाका कष्टपुर्ण जीवन केवल कहानी जस्तो बन्न पुगेको छ भने नाफा बुझाउन नसक्ने कार्यकर्ता र आम जनताको समस्यालाई राजनीतिक विज्ञापनको मसला बनाइएको छ’।
नेपाली कम्युनिस्ट आन्दोलन मालेमावादी मुल बिचार सिद्धान्तबाट बिचलित हुँदै गएको भन्दै क्रान्तिकारी युवाहरुले मालेमाबादकाे सैद्धान्तिक र बैचारिक रक्षाका लागि नयाँ बैचारिक पहल लिन उद्धघाेष सहित गत फागुन १ गते जनयुद्ध दिवसको दिन मालेमाका लागि विश्वमञ्च निर्माणकाे घाेषणा गरेका थिए ।