काँग्रेसले जित्दा बुढाबुढीलाई भोकभोकै मार्ने – अध्यक्ष ओली
२६ फागुन विराटनगर। निर्वाचन आयोग पार्टीगत रूपमा काँग्रेसतर्फ झुकेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन्। मोरङको रंगेलीमा आयोजित जनसभामा अध्यक्ष ओलीले मत पत्र हरियो रङमा छाप्ने आयोगको निर्णय मान्य नहुने बताएका हुन्।
उनले भने, ‘काँग्रेस नेतृत्वको सरकारले काम गर्न सकेन। अहिले मतपत्र समेत हरियो रङमा छाप्ने निर्णयमा पुगेको छ। जसलाई निर्वाचन आयोगले समेत स्वीकारेको हुँदा आयोग काँग्रेसतर्फ झुक्यो। जुन एमालेलाई मान्य छैन।’
ओलीले नेपाली काँग्रेस सुख्खा परेको बाँझो खेत जस्तै भएको टिप्पणी पनि गरे। काँग्रेसले जित्दा बुढाबुढीलाई भोकभोकै मार्ने बताउँदै उनले काँग्रेसले जेष्ठ नागरिकलाई नसम्झने बताए। काँग्रेसले एमालेको विरोध गरेर जनता अलमल्याएर भ्रम पारेको आरोप लगाउँदै ओलीले भने,‘त्यो जमाना गयो, अब जनता अलमलिने जमाना छैन।’
उनले अर्को दल एमालेबाट अलग्गिएपछि हाइसन्चो भएको बताए। ‘एमालेबाट चोइटिएर गएपनि कुनै असर भएको छैन। बरु पिलो निचोरिएकोजस्तो भएको छ,’ ओलीले भने, ‘माओवादी पार्टी नभएर अन्योलको पार्टी भएको हुँदा त्यसमा अल्मलिन हुँदैन। हामी प्रस्ट छौं।’