अहिले गठबन्धनमा कुनै अफ्ठ्यारो छैन : प्रचण्ड
३० फागुन काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताएका छन्। धनगढी विमानस्थलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ भन्ने हो, तालमेलको सम्भावना भयो भने गठबन्धनका दलहरुसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने सोच छ।’
प्रधानमन्त्रीले गठबन्धनलाई असर पार्ने कुरा नबोल्न भनेर केही दिन अघि आफ्नै दलका नेतालाई निर्देशन दिएको स्मरण गराउँदै प्रचण्डले गठबन्धन दलका शीर्ष नेतृत्व गठबन्धनलाई अगाडि लिएर जाने कुरामा द्धिवीधामा नहरेको बताए। ‘तपाईहरुले प्रधानमन्त्रीको केहि दिन अगाडिको वक्तव्य पनि हेरिहाल्नुभयो। गठबन्धनमा असर पर्ने कुनै कुरा नबोल भनेर आफ्नै नेताहरुलाई पनि निर्देशन जारी गर्नुभएको छ,’ उनले भने, ‘त्यसो भएको हुनाले अहिले गठबन्धनमा कुनै अफ्ठ्यारो छैन।’
प्रचण्डले नेपाली कांग्रेसलाई पनि चाडैँ सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी गराउने विषयमा छलफल भएको बताए। उनले भने, ‘केन्द्रमा भएको सहमति अनुसार तीन ठूला दलले २/२ वटा प्रदेश र जसपालाई एउटा प्रदेश सरकारको नेतृत्व गर्न दिने भनिएको हो।’ प्रचण्डले पहिलो जोड आफ्नै तागतमा निर्वाचन जित्नेगरी तयारी गरेर जानुपर्ने रहेको बताए। उनले तालमेलको सम्भावना भएमा गठबन्धनलाई नै प्राथमिकता दिएर जाने स्पष्ट पारे।