एमाले र माओवादीबीच तालमेलबारे महासचिव पोखरेलले दिए यस्तो प्रतिक्रिया
४ चैत काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी स्थानीय चुनावमा नेकपा (माओवादी केन्द्र) सँग तालमेल नहुने बताएका छन्।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ‘कांग्रेसले लेखेटिरहे, एमालेसँग मिल्दिन्छौं’ भनेर चेतावनी दिएको भोलिपल्ट महासचिव पोखरेलले माओवादी र नेकपा (एकीकृत समाजवादी) सँग चुनावी तालमेलको संभावना नरहेको बताएका हुन्।
“हिजो आज सञ्चारमाध्यममा सुन्दै छु, कांग्रेसले टेरेन भने एमालेसँग मिल्दिछौं भन्ने कुरा तर एमालेले लिए न मिल्ने हो,” धादिङमा शुक्रबार आयोजित सभामा बोल्दै पोखरेलले भने, “देश र जनताप्रति यत्रो घात गर्नेलाई कांग्रेसले हिर्कायो अब आउ भन्नेवाला छैनौं।”
एमाले जिल्ला कमिटी धादिङले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित जिल्ला स्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा महासचिव पोखरेलले एमाले एक्लै चुनाव लड्ने बताए। यसअघिको स्थानीय चुनावमा पनि एक्लै लडेर जितेको उनको भनाइ थियो।
२०७४ को स्थानीय चुनाव एक्लै लड्दा पनि आफ्नो पार्टीले ४५ प्रतिशत स्थानमा जित हासिल गरेको स्मरण गर्दै पोखरेलले भने, “त्यतिवेला पनि कांग्रेस र माओवादीकै संयुक्त सरकार थियो, हामी प्रतिपक्ष बसेरै स्थानीय चुनाव जितेका थियौं, अब पनि जित्छौं।”