ओलीकै प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री बन्छन् – नेता डा. रिजाल


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ७ २०७९
5.4K
SHARES

७ वैशाख काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिस्टहरूको आन्तरिक लडाइँमा कांग्रेस सहभागी हुन नहुने बताएका छन्।  ५३ औँ स्थापना दिवसको अवसर पारेर नेविसंघको पद्मकन्या क्याम्पस इकाइले बुधबार राष्ट्रिय नाचघरमा आयोजना गरेको विचार गोष्ठीमा उनले कम्युनिस्टहरूको आन्तरिक लडाइँमा कांग्रेस सहभागी हुन नहुने बताएका हुन्।

‘स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टी दायित्व’ विषयक विचार गोष्ठीमा नेता रिजालले भने, ‘कम्युनिस्टहरूको एक–अर्कालाई सक्याउने लडाइँमा नेपाली कांग्रेस सहभागी हुनुहुँदैन।’

काँग्रेससँगको चुनावी तालमेलबाट नेकपा माओवादी केन्द्रले राम्रो नतिजा ल्यायो भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने उनको भनाइ थियो।  ‘यो गठबन्धनबाट राम्रो नतिजा आयो भने ओलीले प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्छन्,’ रिजालले भने, ‘भन्ने छन्– यो गठबन्धन तोड्नुस्, प्रधानमन्त्री बन्नुस्। उनी प्रधानमन्त्री बन्छन्।’  उनले चुनावी तालमेलमा आफू अनुकूल नतिजा नआए प्रचण्ड फेरि एमालेसँग मिल्ने समेत आशंका गरे।