राष्ट्र बैंकको ६६औँ वार्षिकोत्सव : अर्थमन्त्रीलाई बोलाइएन


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १४ २०७९
4.2K
SHARES

१४ वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आफ्नो ६६औँ वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सव समारोहमा नेपालको अर्थतन्त्रमा कोभिड–१९ का कारण परेको असर र अहिलेको खस्कँदो अर्थतन्त्रका बारेमा पनि छलफल हुनेछ । खस्कँदो अर्थतन्त्रका कारण नेपालको उत्पादन, आय, रोजगारी, मूल्य तथा अर्थतन्त्रका सबै सूचकहरूमा नकारात्मक असर परिरहेको र यसलाई सकारात्मक ढंगबाट अघि बढाउने वषयमा पनि छलफल हुने राष्ट्र बैंकले जनाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई भने बोलाइएको छैन । विगतमा पनि राष्ट्र बैंकको वार्षिकोत्सवमा अर्थमन्त्रीलाई निमन्त्रणा गर्ने परम्परा नै नरहेको केन्द्रीय बैंकले जनाएको छ ।

पछिल्लो समय अर्थमन्त्री शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच तिक्ततापूर्ण सम्बन्ध छ । अर्थमन्त्री शर्माको प्रस्तावमा सरकारले केही दिनअघि गभर्नर अधिकारीविरुद्ध गोप्य सूचना चुहाएको आरोपमा जाँचबुझ गर्न समिति गठन गरेको थियो । त्योसँगै अधिकारी निलम्बनमा परेका थिए ।

आफूलाई हटाउने उद्देश्यले सरकारले समिति गठन गरेको भन्दै उक्त निर्णय खारेजीको मागसहित उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले तत्काल निलम्बन नगरी काममा फर्कने गरी अल्पकालीन अन्तरिम आदेश दिएको थियो । गभर्नर अधिकारीमाथिको मुद्दामा दुवै पक्षको बहस नसकिएकाले ‘हेर्दाहेर्दै’मा राखिएको छ ।