अब सँगै बस्न सकिँदैन – विप्लव


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १५ २०७९
6K
SHARES

१५ वैशाख काठमाडौं । बुधबार (आज) बिहान नेत्रविक्रम चन्द ‘विप्लव’ले आफुपछि दोस्रो वरीयतामा रहेका नेता हेमन्तप्रकाश वली ‘सुर्दशन’लाई फोन गरे । पार्टीकै नियमित कामको फोन होला सोचेका वलीलाई विप्लवले पार्टीबाट छुट्टिनुपर्ने सुनाए । विप्लव नेतृत्वको नेकपाभित्र पछिल्लो एक वर्षयता चरम अन्तरसंघर्ष चर्किँदै आएको थियो ।

एक समूहको नेतृत्व विप्लव आफैँले गरेका थिए भने अर्को समूहमा वली र नेता धर्मेन्द्र बास्तोला थिए । पछिल्लो समय विप्लवले स्थानीय तह निर्वाचनमा जानुपर्ने प्रस्ताव पार्टीको केन्द्रीय कमिटीमा गरेका थिए । तर बास्तोला र वली विप्लवको प्रस्तावको विपक्षमा उभिए । विप्लवको प्रस्ताव अल्पमतमा पर्‍यो । त्यहीँबाट सुरु भयो टकराव । टकराव जारी थियो । देशका विभिन्न जिल्लामा यही ११ र १२ गते स्थानीय तह निर्वाचनका लागि विप्लव समूहका नेता–कार्यकर्ताले पार्टी निर्णयविपरीत उमेदवारी दर्ता गराए ।

उमेदवारी दर्तापछि धर्मेन्द्र बास्तोलाले चुनावमा जाने पार्टी नीति नभएकाले उमेदवारी फिर्ता लिन आग्रह गर्दै विज्ञप्ति नै जारी गरे ।
जुन विप्लवको चाहनाविपरीत थियो । बास्तोलाको विज्ञप्तिपछि विप्लवले आफुनिकट नेता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगरसँगको सल्लाहमा वली र बास्तोलालाई पदमुक्त गर्ने निर्णय गरे बुधबार बिहान । पदमुक्तको विज्ञप्ति सार्वजनिक गर्नुअघि आफुलाई विप्लवले फोन गरेको नेता वलीले बताए । उनले भने,“विप्लवजीले फोन गरेर अब सँगै बस्न सकिँदैन । तितोपिरो नगरौं भन्नुभयो । मैले छलफल गरौं भन्दा उहाँले मान्नुभएन । आ–आफ्नो बाटो लागौं भन्नुभयो । यति भइसकेपछि अब हामी सँगै रहने अवस्था रहेन ।”

नेता वलीले अब आफुहरु केही दिनमै आफ्ना धारणा सार्वजनिक गर्ने बताए । नयाँ पार्टी गठनको दिशामा आफुहरु अगाडि बढ्ने वलीले संकेत गरे । दुईवर्ष सशस्त्र संघर्षमा लागेको विप्लव समूहका दुई महत्वपूर्ण नेतामध्ये वली र बास्तोला थिए । उनीहरु तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा पनि सहभागी थिए । ललितपुरमा एनसेलको कार्यालय अगाडि विप्लव समूहले गराएको बम विष्फोटको जिम्मेवारी पनि वलीले लिएका थिए । सो घटनामा एकजनाको ज्यान गएको थियो ।

वलीलाई प्रहरीले पक्राउ गरेको थियो । पछि बास्तोला पनि पक्राउ परेका थिए । दुवै नेताहरु ६ महिना बढी जेल बसेका थिए ।
विप्लवले वली र बास्तोलामाथि आर्थिक अनियमितताको आरोप पनि लगाएका छन् । विप्लवमाथि पनि नेताहरुले निजी सम्पत्ति जोडेको आरोप लगाउँदै आएका छन् । ललितपुरमा विप्लवको निजी निवास बनिरहेको, कपिलवस्तुमा आफ्नै जमिनमा कार्यालय बनाएको लगायतका आरोप विप्लवमाथि छ ।