विप्लवका विद्रोही नेताको भेला, नयाँ पार्टी घोषणा गर्ने


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २१ २०७९
3.5K
SHARES

२१ वैशाख काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूले राष्ट्रिय भेला आयोजना गरेका छन् । चुनावको विषयले विवाद गर्दै गएपछि विप्लवले कारबाही गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाव वलीको नेतृत्वमा चितवनको पर्सामा आजदेखि राष्ट्रिय भेला सुरु हुन लागेको हो । भेला दुई, तीन दिन चल्ने र एकताको आहृवान गर्दै नयाँ पार्टी घोषणा गर्ने केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । ‘एकताको आहृवान गर्दै नयाँ पार्टी बनाउँछौं,’ उनले अनलाइनखबरसँग भने, ‘एकता गर्ने, बहस गर्ने कुरालाई खुल्ला राख्दै हामी संसदवादका विरुद्ध विद्रोह गर्छौं ।’

पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै विप्लवले १४ वैशाखमा दुई नेतालाई पार्टीबाटै निस्कासन गरेपछि विभाजन लगभग निश्चित नै भइसकेको थियो । चुनावको कुराले विप्लवहरु धेरै टाढा पुगेको र केन्द्रीय समिति बोलाएर छलफल गर्ने प्रस्ताव पनि अस्वीकार गरेको लोहनीले बताए। ‘चुनावको कुराले उहाँहरू केन्द्रीय समितिको निर्णयभन्दा धेरै डाढा पुग्नुभयो’ लोहनीले भने, ‘अर्कोतिर, धर्मेन्द्र र सुर्दशनलाई कारबाही गर्‍यौं भन्नुभयो । केन्द्रीय समिति बैठक बोलाउनुहोस् न त छलफल गरौं भन्ने कुरा राख्यौं, उहाँहरूले मान्नु भएन । हामीलाई एकताको आहृवान गर्न पनि बोलाउनु भएन ।’

गत चैत दोस्रो साताबाट कपिलवस्तुको शिवगढीमा सुरु भएर एक हप्ताभन्दा बढी चलेको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले स्थानीय चुनावमा जानुपर्ने प्रस्ताव लगेका थिए । तर उनको प्रस्ताव अल्पमतमा परेको थियो । विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केही केन्द्रीय सदस्य मात्रै चुनावको पक्षमा उभिँदा बहुमत पक्ष विपक्षमा थियो । त्यसपछि विप्लव चुनावबारे मध्यमार्गी नीति लिन बाध्य भएका थिए । चुनावमा प्रत्यक्ष भाग पनि नलिने र बहिस्कार पनि नगर्ने तथा जनपक्षीय उम्मेदवारलाई सहयोग गर्ने निर्णय बैठकबाट भएको थियो।

तर विप्लव र प्रकाण्डले काठमाडौंमा आएर पार्टी दर्ता गरेर चुनावमा जान खोजेपछि विवाद चर्कियो । चुनाव पक्षधर नेताहरू विप्लव र प्रकाण्डले आफूहरुलाई पनि चुनावमा पनि सहभागी गराउनुपर्ने भन्दै प्रधानमन्त्री लगायतसँग ‘लबिइङ’ गरेका थिए । तर चुनावको विपक्षी रहेका नेताहरुले आˆनो पार्टी चुनावको पक्षमा नरहेको भनेर नेताहरुलाई बुझाउन खोजेका थिए । १२ वैखामा धर्मेन्द्रले पार्टीको नीतिविपरीत केन्द्रीय नेताहरूले नै चुनावमा उम्मेदवारी दिएको भन्दै त्यो फिर्ता लिन आहृवान गरेर विज्ञप्ति निकालेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

अहिले पनि बहुमत केन्द्रीय सदस्य चुनाव बहिस्कारको पक्षमा रहेको दाबी लोहनीको छ। ‘बहुमत साथीहरू अलिहे पनि केन्द्रीय समितिको निर्णयभन्दा बाहिर जानु भएको छैन’ उनले भने, ‘अहिले पनि हामी चुनाव बहिस्कारको पक्षमा छौं । पार्टी संसदवादमा गयो भन्नेमा एकमत छौं । यो मतमा अहिले पनि हामी बहुमतमै छौं ।’ राष्ट्रिय भेला नेकपाकै नामबाट हुने र त्यही भेलाबाट पार्टीको नयाँ नाम के हुने भन्नेबारे तय हुने लोहनीले जानकारी दिए ।