हराइरहेको जहाजमा गोरखाका ४ जना यात्रु सवार


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १५ २०७९
7.1K
SHARES

१५ जेठ गोरखा । आज मुस्ताङ्गमा हराइरहेको जहाजमा गोरखाका पनि ४ जना सवार रहेको पाइएको छ । सहिद लखन गाउँपालिका- ५ तीनमाने स्थायी ठेगाना भएका गणेशनारायण श्रेष्ठ परिवार सहित मुस्ताङ घुम्न गएको जानकारी आएको उहाँका छिमेकी बिजय पुडासैनीले जानकारी दिनुभयो । ‘जेठी छोरी रोजिना र कान्छी छोरी रविना सहित भाउजू रश्मीलाई लिएर गणेश दाई पोखरा घुम्न जानू भएको रहेछ, त्यतैबाट मुस्ताङ जानुभएको हुनुपर्छ ।’ पुडासैनीले भन्नुभयो ।

श्रेष्ठ परिवारका सबैको फोन अफ रहेको सहिद लखन-५ का वडाध्यक्ष यमबहादुर रानाले बताउनुभयो । ‘उहाँहरू मुस्ताङ जान लागेको आफन्तलाई बताउनु भएको रहेछ, दुबै छोरी केही साता अघिमात्रै अमेरिकाबाट नेपाल आएका हुन् ।’

मुस्ताङ्गका प्रजिअ नेत्रप्रसाद शर्माले हराइरहेको जहाजमा यात्रा गरिरहेकाहरूको नामावली प्राप्त भए पनि ठेगाना यकिन गर्न बाकी रहेको बताउनुभयो ।

पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीन अटर ९एनएईटी विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।