नछुट्याएको फोहोर महानगरले संकलन गर्दैन – मेयर शाह
२४ जेठ काठमाडौं। काठमाडौंका मेयर बालेन्द्र शाह ‘बालेन’ले घरमै कुहिने र नकुहिने फोहर छुट्याइ दिन आग्रह गरेका छन्। मंगलबार समाजिक सञ्जालमार्फत मेयर शाहले कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहरहरू छुट्याएर निकाली दिन आग्रह गरेका हुन्। उनले आगामी दिनमा नछुट्याई ल्याइएका फोहोर महानगरले नलिने पनि बताएका छन्।
मेयर शाहले नछुट्याएको फोहोर महानगरले संकलन नगरी फर्काइदिने बताएका हुन्। यसबाट पर्न सक्ने असुविधाका लागि महानगरले माफी चाहेको तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा सम्झौता गर्न नसकिने बताए। ‘अब फोहोर उठ्नेछ। यो सबैको लागि निसन्देह: खुसीको खबर हो। अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दु:खका लागि क्षमाप्रार्थी छौं। साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ।’ मेयर शाहले भनेका छन्।
फोहोर उठ्नु मात्रै समाधान नभएर अब अझै धेरै कुरा बाँकी रहेको उनले बताएका छन्। ‘हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौं, जसको समाधान यहाँको फोहोर अन्त कतै फालेर वा थुपारेर हुँदैन,’ उनले भनेका छन्, ‘ समाधान तपाईंहरुको साथबिना सम्भव हुँदैन। यसैले हामी आग्रह गर्छौं कि अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन्। कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ।’