‘कोर टीम’ बारे ढाका कुमारले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ५ २०८०
2.3K
SHARES

५ वैशाख काठमाडौं । राजनीतिमा लागेर छोटो समयमै संसदमा पुगेका डा. ढाकाकुमार श्रेष्ठ भ्रष्टाचार काण्डमा मुछिएर शीघ्र पतन भएका छन् । व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो सार्वजनिक भएपछि उनको राजनीतिक करिअर धरापमा परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले सोही अडिओलाई आधार बनाएर ढाकालाई पार्टीबाट निष्कासन गर्‍यो । साथै उनलाई सांसदबाट समेत हटाउन संसद सचिवालयलाई पत्राचार गरिएको छ । पार्टीले ढाकाको स्थानको विन्दबासिनी कंसाकारलाई समानुपातिक सांसद बनाउने निर्णयसमेत लिइसकेको छ ।

ढाकाले भने केन्द्रीय समितिको निर्णयमा असहमति जनाउँदै पार्टीभित्र पुनरावेदन गरेका छन् । साथै उनले हिजो सभामुख देवराज घिमिरेलाई भेटेर आफूलाई सांसदबाट नहटाउन अनुनयसमेत गरे । पार्टीले आफूमाथि गरेको कारबाही प्रक्रियासम्मत नभएको ढाकाको दाबी छ ।

ढाकाले पार्टीको विधान मिचेर आफूमाथि कारबाही गरिएको बताए । कसैको उजुरी परेपछि मात्रै अनुशासन समितिले छानबिन र कारबाही गर्न सक्ने व्यवस्था रहेको उनको भनाइ छ ।

मविरुद्ध कसैले पनि उजुरी दिएको थिएन । सञ्चारमाध्यममा आएको समाचारकै भरमा कारबाही गरियो । मैले कानूनी परामर्श गर्दा यसरी कारबाही गर्न नमिल्ने रहेछ’, उनले भने ।

सार्वजनिक भएको अडियोमा सुनिने आवाज आफ्नो नभएको जिकिर ढाकाले गर्दै आएका थिए । नेपाल प्रेससँगको कुराकानीमा पनि उनले आफूले अन्य सन्दर्भमा बोलेका कुराहरुलाई जोडजाड गरेर यो अडियो बनाइएको हुनसक्ने आशंका व्यक्त गरे । पार्टीको कोर टीमका विषयमा उनले अनभिज्ञता प्रकट गरे ।

‘अडियो नै मेरो होइन भनिसकेपछि कोर टीमबारे मलाई थाहा हुने कुरै भएन’, उनले भने, ‘मलाई पार्टीमा कसैले मन्त्री बन्न पैसा मागेको पनि थिएन ।’ उनले आफूमाथि कारबाही भएमा कोर टीम सार्वजनिक गरिदिन्छु भनेर पार्टीलाई चेतावनी दिएको कुरा पनि अस्वीकार गरेका छन् ।