उपनिर्वाचनमा एमालेको मत घण्टीलाई !


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १३ २०८०
2.1K
SHARES

१३ वैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा आफ्नो पार्टी मत समेत जोगाउन सकेन । एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल, चितवन–२ मा रामप्रसाद न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको थियो ।

तर तीनै जना उम्मेदवारले पार्टीले यसअघि पाएको मत पनि जोगाउन सकेनन् । तनहुँ–१ मा खनालले गत ४ मंसिरको चुनावमा एमाले उम्मेदवार एकबहादुर रानाले पाएको भन्दा साढे ११ हजार कम मत पाए ।त्यसबेला नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर जित्दा एमालेका रानाले १९ हजार ९८१ मत ल्याएका थिए । तर यो उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत ल्याएर जित्दा खनालले ८ हजार ४८८ मत मात्रै ल्याए ।

खनालले पाएको मत एमालेले ४ मंसिरको चुनावमा समानुपातिकतर्फ पाएको मत भन्दा करिब ८ हजारले कम हो । ४ मंसिरको चुनावमा समानुपातिकतर्फ एमालेले तनहुँ १ मा नै १६ हजार ६८३ मत पाएको थियो । तनहुँका एमाले नेताहरुका अनुसार, एमालेको मत यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । ‘हामीलाई भोट हाल्नेले यसपटक खुलेरै घण्टीमा हाल्ने हो भनेको सुनियो, नतिजा पनि त्यस्तै आयो’, एमाले नेता राना भन्छन् ।कांग्रेसले आफ्नो पार्टीका समर्थकको मत जोगाएकाले पनि स्वर्णिमले जित्नुमा एमाले मतको प्रमुख भूमिका रहेको अनुमान लगाउन सकिन्छ ।

गत चुनावमा रामचन्द्र पौडेलले पाएको मत भन्दा उपनिर्वाचनमा गोविन्द भट्टराईले पाँच हजार कम मत पाएका छन् । तर ४ मंसिरको चुनावमा तनहुँ १ मा कांग्रेसले समानुपातिकतर्फ २० हजार १५८ मत पाएको थियो । उपनिर्वाचनमा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन् ।नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जस्ता दलहरुसँग उपनिर्वाचन भएका तीनवटै निर्वाचन क्षेत्रमा यसपटक उम्मेदवार नै थिएन । त्यसैले उनीहरुको नाफा नोक्सानको हिसाब नै आवश्यक परेन ।

तर तीनवटै क्षेत्रमा उम्मेदवारी दिएको राप्रपाले पनि यसपटक आफ्नो मत गुमाएको छ । यद्यपि गत चुनावमा पनि राप्रपाको मत प्रतिस्पर्धी थिएन । प्रतिस्पर्धी मत भएकै एमालेले उपनिर्वाचन ठूलो अन्तरले तीनै क्षेत्रमा मत गुमाएको छ ।

जबकी ४ मंसिरको चुनावमा काठमाडौं–६ मा पराजित खनालले मत तान्ने आँकलन गरेरै एमालेले तनहुँ लगेको थियो । ‘नेपाल प्रहरीका पूर्व प्रमुख रहेको र आवश्यक खर्च धान्न सक्ने उम्मेदवार भनेरै सर्वेन्द्र खनाललाई टिकट दिइयो । तर त्यो भन्दा यहाँका स्थानीय नेता उठेको भए पार्टी मत जोगाउन सक्ने रहेंछ’, तनहुँका एक एमाले नेता भन्छन् ।