दलालहरू के/के गर्छन्, मलाई केही थाहा छैन – नेता रायमाझी


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २० २०८०
1.6K
SHARES

२० वैशाख काठमाडौ । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा आफूविरूद्ध पक्राउ पुर्जी जारी गरेकोबारे जानकारी नभएको बताएका छन्।

बुधबार दिउँसो जिल्ला अदालत काठमाडौंले प्रतिनिधि सभा सदस्यसमेत रहेका रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको घटनामा रायमाझीको पनि सम्बन्ध देखिएकाले काठमाडौं जिल्ला प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी मागेको थियो।

पक्राउ पुर्जी जारी भएपछि बुधबार दिउँसो हामी कुराकानी गर्दै एमाले सचिव रायमाझीले आफू अहिले अर्घाखाँचीको कार्यक्रममा भएको र अहिलेसम्म कसैले आफूलाई यो विषयमा सोधपुछ पनि नगरेको बताए।

‘दलालहरू के/के गर्छन्, मलाई केही थाहा छैन। यसबारे कुनै जानकारीसमेत छैन,’ उनले भने,‘मलाई यस विषयमा प्रहरीले कुनै सोधपुछसमेत गरेको छैन।’ रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए।