क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार छु – प्रधानमन्त्री
४ जेठ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित रहेको बताएका छन् । उक्त विषयमा कसैले उजुरी गरेर छानबिन गरे जेल जान तयार रहेको उनले घोषणा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनाको छानबिन गर्नका लागि सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वको प्रतिवेदन सार्वजनिक गर्ने विषय सर्वोच्च अदालतसँग सम्बन्धित रहेको बताएका छन् ।
प्रतिनिधि सभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गरेको प्रश्नको जवाफ दिने क्रममा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय सर्वोच्च अदालतको आदेशसँग सम्बन्धित रहेको बताए । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पक्षमा आफू रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो ।
म दोस्रोपटक प्रधानमन्त्री हुँदा थरुहट र मधेस आन्दोलनसँग सम्बन्धित विषयहरूमा छानबिन गर्नका लागि लाल आयोग गठन भएको कुरा साँचो हो । त्यो आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्दछ भन्नेभित्र पर्छु म,’ उनले भने, ‘त्यसलाई कुन रूपमा कसरी सार्वजनिक गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको जानकारी यहाँहरूलाई गराउन चाहन्छु । हामी अहिले पनि सर्वोच्च अदालतको फैसलालाई कुनै किसिमले पुनरावेदन गरेर खुला गरेपछि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’
सांसद खनालले सरकार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छ कि गर्दैन ? भन्ने प्रश्न गरेका थिए । दाहालले केही प्रतिवेदन संवेदनशील रहेको अवस्थामा भने सार्वजनिक नगर्ने अभ्यास अन्तर्राष्ट्रियस्तरमा नै रहेको पनि बताए । ‘सरकारले समयसमयमा देखा परेका समस्याका विषयमा आयोग गठन गरी प्रतिवेदन प्राप्त गर्ने गरेको यहाँहरूलाई जानकारी नै छ । तराई मधेस र थरुहट आन्दोलनका विषयमा पनि आयोग गठन गरी प्रतिवेदन प्राप्त गरेको थियो । यी र यस्ता प्रतिवेदन शान्तिसुरक्षाका दृष्टिकोणले कहिलेकाहीँ प्रकाशित हुन असजिलो हुन सक्दछ । तर मैले यहाँ जानकारी गराइसके यो विषय सर्वोच्च अदालतसँग सम्बन्धित हुन पुगेको छ, ‘उनले भने, ‘देशको शान्ति सुरक्षा र अमन चयनमा खलल हुने अवस्था आएमा विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै कुनै पनि प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने प्रचलन अन्तर्राष्ट्रिय प्रचलन पनि रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार सार्वजनिक शिक्षालाई सुधार गर्दै सीपमूलक शिक्षामा केन्द्रित भएको बताएका छन् । संसद्मा नेपाली काँग्रेसकी सांसद इश्वरी न्यौपानेले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उक्त जवाफ दिएका हुन् ।
सबै सरकारी विद्यालयमा गुणस्तरीय र रोजगारमूलक शिक्षा सञ्चालन गरी स्वदेशमै रोजगारी र गुणस्तर सुधार सरकारको प्राथमिकता हो,” प्रधानमन्त्रीले भने, “शिक्षकको क्षमता वृद्धि गर्दै, स्थानीय र प्रदेश सरकारसँग समन्वयमा गुणस्तर अनुगमन र सुधारको काम भइरहेको छ ।”
उनले आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्म ९०३ अर्ब रेमिट्यान्स भित्रिएको र ६७ अर्ब ९ करोड रुपैयाँ विद्यार्थी पढ्नका लागि विदेश जाँदा बाहिरिएको जानकारी दिएका छन् ।