एक क्वीन्टल सुनका मालिक भनिएका युवक बाइक पनि किन्न नसक्ने हैसियतका हुन् – वडाध्यक्ष लामा


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ४ २०८०
13.6K
SHARES

४ साउन काठमाडौं । दोलखाका मेलुङ गाउँपालिका-३ का वडाध्यक्ष बसन्त लामाले एक क्वीन्टल सुनका मालिक भनिएका २१ वर्षीय दीलीप भुजेलको आर्थिक अवस्था दयनीय रहेको बताएका छन् । उनले सुन तस्करले आफ्ना गाउँलेलाई फँसाएको र उनीहरु भरियामात्र भएको हुनसक्ने बताए । ‘उनको परिवार मेलुङ-१ मा बस्छ तर मेरो वडाबाट नजिकै पर्छ ।

म उनीहरुलाई राम्रोसँग चिन्छु । काम नगरी खान नपुग्ने आर्थिक अवस्थाका हुन उनीहरु । मोटरसाइकल पनि खरिद गर्न नसक्ने अवस्थाका मान्छेले यत्रो सुन ल्यायो भन्दा कसरी पत्याउनु’, लामाले भने । दीलीपकै नाममा दर्ता रहेको रेडी ट्रेड्स प्रालिले सुन जडित ब्रेक सु ल्याएको पाइएको छ । राजस्व अनुसन्धान विभागले दिलिपसहित मेलुङ-३ का ५३ वर्षीय रामकुमार भुजेललाई पनि पक्राउ गरेको छ ।

लामाका अनुसार दिलिप, रामकुमारका साला हुन् । रामकुमार काठमाडौंमा ट्याक्सी चलाउँदै आएका थिए । ‘रामकुमारमार्फत सम्पर्कमा आएका व्यक्तिले दीलीपको नाममा कम्पनी दर्ता गरेको भन्ने सुन्नमा आएको छ । ३ महिना अघि मात्र कम्पनी दर्ता भएको भन्ने छ’, लामाले भने, ‘आज बिहानै उहाँहरुको परिवार सम्पर्कमा आउनु भएको थियो ।’ राजस्व अनुसन्धान विभागले सुनका वास्तविक मालिक को हो भन्नेबारे केहीपनि सार्वजनिक गरेको छैन ।