बैंकहरुको कर्जा नोक्सानी बढ्ने क्रम रोकिएन
५ साउन काठमाडौँ । आर्थिक वर्ष २०८९/८० को जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब ७२ करोड रुपैयाँ कर्जा नोक्सानी (प्रोभिजन) गरेका छन्। कोभिड महामारीका कारण उत्पन्न भएको असहज परिस्थितिले ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा बैंकहरुको प्रोभिजन बढेको हो।
अघिल्लो वर्ष त्यही अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल २३ अर्ब ९८ करोड रुपैयाँ प्रोभिजन गरेका थिए। कर्जा रिकोभरीको समस्यामा सुधार नहुँदा यतिबेला एउटै बैंकले साढे ६ अर्ब रुपैयाँसम्म पनि प्रोभिजन गरेका छन्।कुमारी बैंकले आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म ६ अर्ब ५७ करोड प्रोभिजन गरेको छ।
अघिल्लो वर्ष त्यही अवधिमा कुमारीले १ अर्ब ३ करोड प्रोभिजन गरेको थियो। यस बैंकले गत वर्ष एनसीसी बैंकलाई गाभेसँगै खराब कर्जा थपिन गई प्रोभिजन बढेको देखिन्छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको खराब कर्जा निरन्तर बढ्दै जाँदा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोडसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनर्तालिकिकरण वा पुनर्संरचना गर्न दिन सकिने व्यवस्था गरिदिएको छ।
यस सुविधाले बैंक तथा वित्तीय संस्थाको खराब सामान्य मात्रै बढेको एक बैंकरले बताएका छन्। कर्जाको पुनर्तालिकिकरण वा पुनर्संरचना व्यवस्थाले केही बैंकको खराब कर्जा ५ प्रतिशत तल अडिएको उनी बताउँछन्।‘आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म वाणिज्य बैंकको औसत खराब कर्जा ३ प्रतिशत माथि थियो’, उनले भने, ‘केही बैंकको खराब कर्जा साढे ४ प्रतिशत पुगेको थियो।’
राष्ट्र बैंकले सुविधा नदिएको भए आधा दर्जन बैंकको खराब कर्जा ५ प्रतिशत माथि पुगिसकेको हुन्थ्यो,’ उनले भने। खराब कर्जा ५ प्रतिशत नाघ्दा बैंक तथा वित्तीय संस्था जोखिमयुक्त मानिन्छ। साथै, खराब कर्जा बढ्दा बैंकको प्रोभिजनसमेत बढ्छ।
बैंक तथा वित्तीय संस्थाको प्रोभिजन बढ्दा कर्जा क्षमता ह्रास आउने हुन्छ।
अधिकांश बैंकको खराब कर्जा ५ प्रतिशत नाघ्ने देखिएपछि राष्ट्र बैंकको कर्जाको पुनर्तालिकिकरण वा पुनर्संरचनाको व्यवस्थाले अहिले बैंकहरुको खराब कर्जा थप बढेको उनी बताउँछन्। बैंक तथा वित्तीय संस्थाले खराब कर्जालाई पाँच भागमा वर्गीकरण गरी कर्जा नोक्सानी छुट्याउने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले असल कर्जाको हकमा १.०३ प्रतिशत, सुक्ष्म निगरानीमा ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पदमा ५० प्रतिशत र खराब कर्जामा १०० प्रतिशत प्रोभिजनको व्यवस्था गरेको छ।
चालु आवको जेठ मसान्तसम्म (क) वर्गका वाणिज्य बैंकहरुले मात्रै खराब कर्जा वापत ४४ अर्ब ८८ करोड ५ लाख रुपैयाँ कर्जा नोक्सानी छुट्याएका छन्। त्यसैगरी (ख) वर्गका विकास बैंकले ७ अर्ब ३१ करोड र (ग) वर्गका फाइनान्स कम्पनीले १ अर्ब ४२ करोड १ लाख रुपैयाँ कर्जा नोक्सानी छुट्याएका छन्।
अघिल्लो वर्ष त्यही अवधिमा (क) वर्गका वाणिज्य बैंकले २० अर्ब ५५ करोड ९ लाख, (ख) वर्गका विकास बैंकले २ अर्ब ७६ करोड ५ लाख रुपैयाँ र (ग) वर्गका फाइनान्स कम्पनीले ६७ करोड रुपैयाँ कर्जा नोक्सानी गरेका थिए।
असारमा कर्जा रिकभरीमा सुधारले बैंक तथा वित्तीय संस्थाको नोक्सानी घट्दै जान्छ, उनले भने। ‘केन्द्रीय बैंकले कर्जाको पुनर्संरचना र पुनर्तालिकिकरण गर्न पाउने व्यवस्था गरेको छ’, उनले भने, ‘यस्तो व्यवस्थाले बैंकहरुको खराब कर्जा घट्न गई कर्जा नोक्सानीलाई समेत घटाउन मद्दत गर्छ।’
बैंकहरुले नयाँ कर्जा प्रवाह गरेका छैनन्। ‘पुरानो कर्जाको रिकभरीमा सुधार हुँदै गएको छ। यसले पनि आगामी समयमा कर्जा नोक्सानी घट्ने नै हो’, उनले भने। जसले गर्दा नन पर्फमिङ लोन (एनपीएल) घट्दै जाने उनले बताए।
‘अन्तिम त्रैमाससम्म आइपुग्दा एनपीएल अझै माथि जान सक्ने आँकलन गरिएको थियो’, उनले भने, ‘बैंकहरु नयाँ कर्जा प्रवाह रोकेर रिकोभरीमा लागे। राष्ट्र बैंकले केही सहज गर्दा एनपीएल घट्ने देखिएको हो।’
गत वर्षको त्यही अवधिको तुलनामा २१ वटै वाणिज्य बैंकको कर्जा नोक्सानी बढेको छ। जेठ मसान्तसम्म कुमारी बैंकले सबैभन्दा धेरै ६ अर्ब ५७ करोड कर्जा नोक्सानी गरेको छ।
सबैभन्दा थोरै कर्जा नोक्सानी गर्नेमा एनआईसी एशिया बैंक छ। बैंकले ५३ करोड ३ लाख कर्जा नोक्सानी गरेको छ। गत वर्ष त्यही अवधिमा एनआईसी एशिया बैंकले ४० करोड रुपैयाँ कर्जा नोक्सानी छुट्याएको थियो।