नाडा अटो शो भदौ ७ गतेदेखि हुने


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १४ २०८०
2.1K
SHARES

१४ साउन काठमाडौं। आगामी भदौमा राजधानीमा हुने सवारी मेला नाडा अटो शोमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे गरी ३७ वटा ब्रान्ड सहभागी हुने भएका छन्। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले आइतबार गोला गर्दै उक्त ब्रान्डहरुको स्टल छनोट गरिएको जनाएको छ।

नाडाका कोषाध्यक्ष मिलनबाबु मल्लका अनुसार यो नाडा अटो शोमा १६ वटा ब्राण्डका चार पाङ्ग्रेको उपस्थिति हुनेछ। जसमा ७ वटा कमर्सियल गाडीको स्टल हुनेछ। यस्तै प्यासेन्जर सेग्मेन्टमा भने ९ वटा ब्रान्ड मात्र सहभागी हुने निश्चित भएको उनले बताए।

साथै २१ वटा ब्राण्डका दुई पाङ्ग्रे सवारीको उपस्थिति हुने कोषाध्यक्ष मल्लले बताए। नाडा अटो शो आगामी यही भदौ ७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। त्यसैको लागि स्टल छनोटको प्रक्रिया टुंगो लगाइएको नाडाले जनाएको छ।

यो अटो शोमा चार पाङ्ग्रेमा हुन्डाई, टाटा, मारुती सुजुकी, महिन्द्रा, ग्रेटवाल, बीवाइडी, एमजी, चांगन, सिट्रोन, म्याक्सस, नेटा भी, निसान, फोर्ड लगायतका धेरै ब्रान्डको उपस्थिति हुनेछ। कमर्सियलमा सीजीको केवाइसी, किङलङ, फोर्स मोटर्स, एसआरएम, पोलारिस र आइचर छन्।

यस्तै दुई पाङ्ग्रेमा हिरो, होन्डा, रोयल इन्फिल्ड, बजाज, टीभीएस, बेनेली, क्रसफायर, सुजुकी, एनआईयु, टेल्जी, सन्रा, याडिया, यामाहा, केटीएम, बीएमडब्लु, जावा, सेगवे, भेस्पा तथा अप्रिला, लेक्ट्रो, इभोक, जोन्टेज, स्लेनेन ९०, कोमाकी, प्यअर इभी, आफ्टेक लगायत २१ वटा ब्रान्ड प्रदर्शनीमा देखिने छन्।

यस्तै किया, वुलिङ, न्यु इभी, होन्डा, लेभनिङहरु पनि नाडा अटो शोमा सहभागी हुन सक्ने नाडाको अपेक्षा छ। साथै अन्य लुब्रिकेन्ट, स्पेयर पार्ट्सको २३ वटा कम्पनीहरु पनि सहभागी हुँदैछन्। यस्तै ५ वटा बैंक वित्तीय संस्थाको पनि स्टल हुने नाडाले जनाएको छ ।

यस पटक इभीमा प्रायः केही नयाँ मोडल र नयाँ ब्रान्ड आउने छन्। नाडाले बुकिङका आधारमा लगभग २ करोडको कारोबार हुने अपेक्षा गरेको छ।