सिद्धार्थ बैंक खुदनाफा ३ अर्ब १९ करोड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १९ २०८०
2.2K
SHARES

१९ साउन काठमाडौं। गत आर्थिक वर्षमा सिद्धार्थ बैंकको खुदनाफा ९.९१ प्रतिशत बढेको छ। गत आर्थिक वर्षमा बैंकले ३ अर्ब १९ करोड १ लाख  रुपैयाँ खुदनाफा गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुदनाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकको खुदनाफा २८ करोड ७६ लाख रुपैयाँ बढेको बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

खुदब्याज आम्दानीमा सुधार भएपछि नाफा बढेको हो। खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेर ८ अर्ब १७ करोड रुपैयाँ नाघेको छ। खुद फि तथा कमिसन आम्दानीमा पनि सामान्य सुधार भएको छ। यसले गर्दा बैंकको सञ्चालन नाफा ९.८ प्रतिशत बढेर ४ अर्ब ६८ करोड ५७ लाख पुगेको छ।

नाफा बढे पनि बैंकको वितरणयोग्य नाफामा गिरावट आएको छ। गत वर्षको नाफाबाट सेयरधनीलाई बैंकले ७९ करोड ५७ लाख रुपैयाँ मात्र वितरण गर्ने सक्ने भएको छ। गत वर्ष नाफा कम हुँदा वितरणयोग्य क्षमता १ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ थियो।

बैंकको जगेडा कोष बढेर १० अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष जगेडा कोषको आकार ७ अर्ब ७१ करोड रुपैयाँ थियो। यसबीचमा बैंकको खराब कर्जा बढेर २ प्रतिशत माथि पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा अनुपात १ प्रतिशत थियो।

खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि २.०४ रुपैयाँ बढेर २२.६४ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ छ।  समीक्षा अवधिमा बैंकले २ खर्ब २३ अर्ब ६४ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।