कर नतिर्ने, नचाहिँदो हल्ला गर्ने – अर्थमन्त्री महत


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ३० २०८०
2.3K
SHARES

३० साउन काठमाडौं । अर्थतन्त्रबारे नकारात्मक हल्ला फैलाएको भन्दै निजी क्षेत्रप्रति अर्थमन्त्री डा. प्रकाशशरण महत क्रुद्ध देखिएका छन्‌ । कर नतिर्ने र अर्थतन्त्रबारे नकारात्मक हल्ला फैलाउने गतिविधि गरेको भन्दै अर्थमन्त्रीले निजी क्षेत्रप्रति रोष प्रकट गरेका हुन्‌ । आन्तरिक राजस्व विभागले आज (मंगलबार) आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भने, ‘कर तिर्नेको संख्या थोरै छ, कर तिर्नुपर्नेको संख्या धेरै छ । उनीहरूले कर तिर्न पनि सक्छन्‌ । उनीहरूलाई करको दायरामा ल्याउनुपर्छ ।’

‘निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्नु हुँदैन, अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ । विस्तारै ब्याज घटिरहेको छ,’ अर्थमन्त्रीले थपे, ‘सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सँधै नकारात्मक भन्नु हुँदैन । हामी सकारात्मक दिशामा जानुछ, जानूपर्छ । यसो गर्न सक्दा मुलुक राम्रो गतिमा जानसक्छ ।’ उनले निजी क्षेत्रलाई नकारात्मक कुरा मात्र नगर्न, बरु सकारात्मक कुराहरूको चर्चा गर्न सुझाए । भने, ‘अब अर्थतन्त्र सुधारतर्फ जान्छ  ।नकारात्मक मात्र कुरा गर्ने हैन । निजी क्षेत्रले खराब मात्र छ भनेर हल्ला फैलाए । हाम्रो देशमा नकारात्मकता नै लोकप्रिय हुने गरेको छ । राम्रो कुराको चर्चा  नै हुँदैन । सकारात्मक कुराहरूको चर्चा हुनुपर्छ ।’

पछिल्लो समय बैंकहरूसँग पैसा (तरलता) रहे पनि यस्तै नकारात्मक हल्लाका कारण कर्जा विस्तार हुनबाट रोकिएको अर्थमन्त्री डा. महतले उल्लेख गरे ।  नेपाल ऋणात्मक वृद्धिमा नभएको भन्दै उनले वृद्धिको रफ्तारमात्रै कम भएको बताए । ‘आन्तरिक उत्पादन बढाउन सरकारले धेरै नै सुविधा ल्याएको छ, ती कुराहरूलाइ बिर्सनु भएन । आन्तरिक उत्पादन बढाउन दिएको सुविधालाई किन यस्तो गरेको, भएन भनेर भन्ने गरिएको छ, यो विरोधाभास हो ।’ अर्थमन्त्री महतले पछिल्लो समय नेपालको अर्थतन्त्र सकारात्मक गतिमा रहेको दाबी गरे । यसप्रति निजी क्षेत्र सकारात्मक हुनुपर्ने उनको भनाइ छ ।

‘कर तिर्ने भन्दा छल्ने धेरै’

नेपालमा कर तिरिरहेकाको तथ्यांक हेर्दा धेरैले कर नतिरेको (छलेको) पनि अर्थमन्त्री डा. महतले बताएका छन्‌ । हाल कर तिरिरहेका भन्दा धेरै संख्यामा व्यक्ति तथा फर्मलाई करको दायरामा ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।

केही व्यक्ति तथा फर्मले भने बढी कर तिर्न तयार रहे पनि मूल्य अभिवृद्धि कर (भ्याट) मा आउन आनाकानी गरिरहेको अर्थमन्त्रीले बताए । उनले प्रश्न गरे, ‘बढी कर तिर्न तयार, तर भ्याटमा आउन नचाहने पनि छन्‌ । भ्याटमा आउन किन समस्या हो त ? यसमा पनि गम्भीर कुरा हुनसक्छ । यसको खोजी गर्नुपर्छ ।’

मन्त्री महतले आन्तरिक राजस्व विभागका अधिकारीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न गम्भीर ध्यान दिन सुझाए । गत आर्थिक वर्षमा लक्षित राजस्व संकलन नहुँदा बजेटको आकार नै खुम्च्याउनु परेपछि झस्किएका अर्थमन्त्रीले भने, ‘आगामी दिनमा राजस्वको लक्ष्य पूरा गर्ने, यसमा के कस्ता समस्या छ र त्यो समस्यालाइ कसरी सम्बोधन गर्न सकिन्छ भनेर सम्पूर्ण ध्यान दिनु पर्नेछ ।’ ग्रे मार्केटलाई करको दायरामा ल्याउन पनि राजस्वले गम्भीर ध्यान दिनुपर्ने अर्थमन्त्री महतकाे भनाइ छ ।

‘कर प्रशासनको छवि बदलिनुपर्छ’

अर्थमन्त्री महतले कर प्रशासनको छवि (इमेज) नै बदल्न जरुरी रहेको पनि बताएका छन्‌ । सबै करदाताहरूलाई सम्मानपूर्वक मित्रवत्‌ व्यवहार गर्न उनले कर प्रशासनलाई निर्देश गरे ।

‘कर तिर्नुपर्ने भए पनि विभिन्न वहाना बनाएर करको दायरामा नआएकाहरूलाई छुट दिनु हुँदैन, यसो गर्न दियो भने अरू करदाताहरू पनि भाग्न सक्छन्,’ उनले भने, ‘हाम्रोमा सानोतिनोलाई लछारपछार पार्ने, तर जो अनेक चलखेल गर्छ-उसलाइ के गर्ने हो या होइन भन्ने छ । करको दायरामा ल्याउने हो ।’