काम गर्ने वातावरण नै भएन – त्रिवि भन्सारका कमर्चारी
२४ भदौ काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू आन्दोलित बनेका छन् । विभिन्न पाँच बुँदे माग राख्दै उनीहरूले आन्दोलनको घोषणा गरेका छन् । आज त्रिवि भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकलाई पत्र लेखेर उनीहरूले सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।
कर्मचारीहरूले आइतबार विरोधस्वरूप तीन घण्टा पेन डाउन गरेका छन् । भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्णरूपमा बन्द गर्ने घोषणा गरेका छन् । यसैगरी उनीहरूले भदौ २७ गतेभित्र अघि सारिएको ७ बुँदे माग सम्बोधन नभएमा कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरूसमेत प्रभावित पार्ने चेतावनी दिएका छन् ।
आफूहरूले सामूहिक सरुवाका लागि दिएको दिवेदनको सुनुवाइ नभएको तथा काम गर्ने वातावरण बिग्रिँदै गएपछि आन्दोलनको घोषण गरेको बताएका छन् । उनीहरूले अनुसन्धानका नाममा निर्दोष कर्मचारीलाई धरपकड गर्ने, पक्राउ गरेर हिरासतमा लिने काम तत्काल बन्द हुनुपर्ने माग गरेका छन् । त्रिवि भन्सारका कर्मचारीहरूले भदौ १२ गते सामूहिक राजीनामाका लागि भन्सार विभागलाई महानिर्देशलाई निवेदन दिएका थिए ।