धितो राखेर पाइने ऋणको सीमा बढ्यो, अब कति पाइन्छ ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १९ २०८०
4.2K
SHARES

१९ असोज काठमाडौं । घरजग्गा बैङ्कमा राखेर लिने कर्जा वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार एकीकृत निर्देशन जारी गर्दै जग्गाको मूल्याङ्कनमा पाइने कर्जाको अनुपात वृद्धि गरेको हो । रियल स्टेट कर्जा लोन टु भ्यालु रेसियो ४० प्रतिशतबाट वृद्धि गरेर ५० प्रतिशत पुर्‍याइएको छ । यसभन्दा पहिले जग्गाको मूल्याङ्कनको ४० प्रतिशत मात्र कर्जा पाइने गरेको थियो । अब भने मूल्याङ्कनको ५० प्रतिशतसम्म कर्जा पाइने भएको छ ।

निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी/परियोजनाहरूलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा मूल्याङ्कनको ६० प्रतिशतसम्म कर्जा प्रवाह हुने छ ।

एकीकृत निर्देशन अनुसार ‘ग’ वर्गका बैङ्कहरूले विदेशी मुद्रा साट्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयले विदेशी विनिमय सटही इजाजत पत्र लिई विदेशी मुद्रा खरिद गरी राष्ट्र बैङ्क वा वाणिज्य बैङ्कहरूलाई बिक्री गर्न सक्ने व्यवस्थालाई हटाएको हो । राष्ट्र बैङ्कले यसअघि ३० जिल्लामा खोलिएका ‘ग’ वर्गका वित्तीय संस्थाका शाखा कार्यालयलाई विदेशी मुन्द्रा साट्ने अनुमति दिएको थियो ।