राष्ट्र बैंकको निर्देशनको सकारात्मक प्रभाव सेयरबजारमा देखिएन
२१ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा १२ करोडको सीमा बढाउँदा पनि सेयरबजारमा सकारात्मक प्रभाव परेको छैन। नेपाल राष्ट्र बैंकले बिहीबार संशोधन गरी जारी गरेको निर्देशिकामा सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा १२ करोडको सिमा बढाएर व्याक्तिगततिर १५ करोड र संस्थागततिर २० करोड पुर्याएको थियो। सेयर धितो कर्जाको सिमा बढ्दा समेत बजारमा सकारात्मक प्रभाव देखिएन। आज कारोबार सुरुवातदेखि नै बजार घटेर १९२१.२४ बिन्दुमा झरेको छ। बजारमा १.८२ प्रतिशतको गिरावटले एकल ग्राहकको सिमाले सकारात्मक प्रभाव नदेखिएको प्रष्ट हुन्छ।
आज बजार कारोबारको सुरुवात समयदेखि नै बजार निरन्तर घटेर १९२१.२४ अंकमा झरेको छ। बजारमा उच्च अंकको गिरावट आउदा कारोबार भने बढेको छ। सेयर धितो कर्जाको जोखिम भार नघटाई सिमा मात्रै बढाउदा बजारमा सप्लाई पक्ष बलियो बनेपछि बजार घटेको हो।
डिमान्डको तुलनामा बजारमा सप्लाई धेरै हुँदा कारोबार समेत अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ। सप्लाई पक्ष बलियो देखिदा बजारमा मोलमोलाइ भई कारोबार बढेको हो। यसले केही लगानीकर्ता आत्तिएको मौका छोपर सस्तोमा सेयर किन्ने पनि रहेको देखाउँछ। घटेको बजारमा बढ्दो कारोबारलाई हेर्दा बजार धेरै तल भने नआउने आँलक गर्न सकिन्छ।
घटेको बजारमा १६ अंक कम्पनीको मात्रै सेयरमूल्य बढेको छ। २१३ कम्पनीको सेयरमूल्यमा भने गिरावट देखिएको छ। आज शिवम सिमेन्टको सर्वाधिक ६ करोड ७३ करोडको कारोबार भएको छ। त्यसैगरी नबिल बैंकको ५ करोड ३४ लाख र एनआईसी एशिया बैंकको ४ करोड ४९ लाखको कारोबार भएको छ। बाराही हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.५९ अंकले बढेको छ।