अर्थमन्त्री महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान
२२ असोज काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान गरेका छन् । ९ अक्टोबरदेखि १५ अक्टोबरसम्म हुने बैंकको बैठकको मूल नारा ‘ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सृजनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल हुने भएको छ ।
विश्व बैंकको मूल कार्यक्रमसँगै अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग अर्थमन्त्री महतले नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरी यूएसएआईडीसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ । सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँच सम्बन्धी जोखिम तत्वको विषयमा छलफल, बिल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेशी एवम् चुनौतीसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल, दक्षिण कोरियाका उपप्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्ने अर्थमन्त्री महतको कार्यसूची रहेको छ ।