राष्ट्र बैंकले बेच्न थाल्यो सुनका असर्फी


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १९ २०८०
2K
SHARES

१९ कार्तिक काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारबाट १ लाख रुपैयाँभन्दा बढी मूल्यका सुनका असर्फी बेच्न थालेको छ । केन्द्रीय बैंकले तिहार लक्ष्य गरी विभिन्न तौलका सुनका असर्फी र चाँदीका सिक्का बेच्न थालेको हो ।

राष्ट्र बैंकका अनुसार २.५ देखि २५ ग्रामसम्मका सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) १ हजार ६ सय रुपैयाँदेखि १ लाख २ हजार ३ सय ६५ रुपैयाँसम्म बिक्री गर्न थालिएको हो । केन्द्रीय बैंकका अनुसार २.५ ग्रामका सुनको असर्फीको मूल्य २५ हजार ५ सय ९२ रुपैयाँ, ५ ग्रामको असर्फीको मूल्य ५१ हजार १ सय ८३ र १० ग्रामको असर्फीको मूल्य १ लाख २ हजार ३ सय ६५ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी १० ग्राम चाँदीको सिक्का १ हजार ६ सय र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्य तोकिएको छ । १० ग्राम चाँदीको सिक्कामा लक्ष्मी र गणेश र गजलक्ष्मी र गाई अंकित छन् भने २५ ग्रामको सिक्कामा गाई अंकित छ । सुनका असर्फी तथा चाँदीका सिक्का आगामी शुक्रबारसम्म बिक्री वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।