सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोबल आइमएई बैंकको निर्णय


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक २२ २०८०
4K
SHARES

२२ कार्तिक काठमाडौं । ग्लोबल आइमएई बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते बिहान बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । हाल बैंकको चुक्तापूँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

ग्लोबल आइएमइ बैंकले खुद नाफामा उच्च सुधार गरेको छ। बैंकको खुद नाफा ४६.२६ प्रतिशतले बढेर ७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। पोहोर यो बैंकको नाफा ४ अर्ब ९५ करोड रुपैयाँ थियो। यस्तै, बैंकको संचलान नाफा पनि ६.४२ प्रतिशतले वृद्धि भई १ अर्ब ७९ करोड ८५ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । यता, वितरणयोग्य नाफा पनि ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ २९ पैसाले घटेर १३ रुपैयाँ ७१ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने ५ रुपैयाँ ०४ पैसाले वृद्धि भई १६८ रुपैयाँ ३ पैसा कायम भएको छ । बैंकको खराब ऋण बढ्नुका बाबजुद ऋण विस्तारमा भएको सुधारले समग्र नाफालाई माथि लगेको हो। यद्यपि, वितरण योग्य नाफा भने थोरै घटेको छ।

बैंकको खुद ब्याज आम्दानी ६६ प्रतिशतले बढेर १७ अर्ब ११ करोड रुपैयाँ नाघेको छ। बैंकको निक्षेप ५४ प्रतिशतले बढ्दा ऋण ३८ प्रतिशतले बढेको छ। बैंकले यस वर्ष गत वर्षको तुलनामा कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकको जगेडा तथा कोषमा भने २४ अर्ब ४३ करोड रुपैयाँ राखेको छ ।