रुस–युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर – मानवअधिकार आयोग


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १ २०८०
1.6K
SHARES

१ पुस काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रुस–युक्रेन युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।रुसी सेनामा भर्ती भएका नेपालीमध्ये केहीको मृत्यु र केहीलाई युक्रेनले युद्धबन्दी बनाएपछि आयोगले आइतबार विज्ञप्ति जारी गर्दै उनीहरूको उद्धार गर्न आग्रह गरेको हो ।“युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यसप्रकारको गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउधनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,” आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रुस र युक्रेनबीच जारी युद्धका क्रममा विभिन्न गैरकानुनी बाटो प्रयोग गरी नेपाली त्यहाँका सेनामा भर्ना भएका आयोगले जनाएको छ ।“प्राप्त जानकारीअनुसार युक्रेनी सेनाको आक्रमणमा परी रुसी सेनामा कार्यरत केही नेपालीको मृत्यु भएको, केही घाइते भई अस्पतालमा उपचाररत रहेका, केही नेपालीहरू विपक्षी सेनाको नियन्त्रणमा रहेका र सयौँको संख्यामा दुवैतर्फको सेनामा नेपालीहरू संलग्न रहेको बुझिन आएको छ,” आयोगले भनेको छ ।नेपाली नागरिक जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानवअधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने आयोगले उल्लेख गरेको छ ।