२१ जोडीको सामूहिक विवाह


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ३ २०८०
2.2K
SHARES

३ पुस जनकपुरधाम । सीताराम विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा २१ जोडीको सामूहिक विवाह भएको छ । विश्व हिन्दू परिषद नेपालको आयोजनामा सोमबार साँझ जानकी मन्दिर प्रांगणमा २१ जोडीको सामूहिक विवाह गराइएको हो ।जानकी मन्दिर प्रांगणमा मैथिली परम्परा अनुसार २१ जोडीको स्वयंबर तथा विवाह सम्पन्न भएको र उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषदले व्यवस्थापन गरेको परिषदका जनकपुर अध्यक्ष सन्तोष साहले जानकारी दिए ।अध्यक्ष साहका अनुसार प्रत्येक जोडीका लागि सुनको एक आनाको मंगलसुत्र, बेहुलीका लागि ९ सेट साडी, श्रृंगारपटार, बेहुलाका लागि पाइन्टसर्ट, धोतीकुर्ताको व्यवस्था गरिएको थियो । यसैगरी भान्छा कोठामा प्रयोग हुने एक सेट सामान, एक सेट ओछ्यान र बेहुला–बेहुली पक्षका २५/२५ जनाका लागि खाजा/खानाको व्यवस्था समेत परिषदले गरिदिएको थियो ।

परिषदका अध्यक्ष साहका अनुसार एक जोडीको बिहेको व्यवस्थापनमा ८०/८५ हजार रुपैयाँ खर्च भएको छ । परिषदले यो खर्च आर्थिक सहयोग संकलन गरी जुटाएको हुन्छ ।विवाह गर्नु अघि बेहुलाहरुलाई दिउँसो रथमा राखेर नगर परिक्रमा गराइएको थियो ।जनकपुरधामलाई विश्वमा वैवाहिक स्थलको रुपमा परिचित गराउन सामूहिक विवाहको आयोजना गर्ने गरेको अध्यक्ष साह बताउँछन् । विवाहपञ्चमीको अवसरमा परिषदले विगत पाँच वर्षदेखि सामूहिक विवाहको कार्यक्रम गराउँदै आएको छ ।परिषदको आयोजनामा यसरी विवाह गर्ने प्रायः आर्थिक अवस्थाले कमजोर परिवारहरु हुन्छन् । २० वर्ष उमेर पूरा भएकाहरुबीच उनीहरुको अभिभावकको सहमतिमा विवाह गराइदिने गरिन्छ । ‘अभिभावक र बेहुला बेहुलीको सहमतिमा हामीले विहेको व्यवस्थापन गरेका छौं । बेहुला–बेहुलीको नागरिकताको आधारमा २० वर्ष पुगेकालाई मात्रै हामीले विवाह गराएका हौं,’ अध्यक्ष साहले भने ।