गरिमा विकास बैंकको लाभांश घोषणा
५ पुस काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस ४ गते वसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीले कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ५० प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।