यी ६१ उद्योगले तिरेनन् डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता
१२ पुस काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरी ६१ वटा उद्योगहरूले २२ अर्ब बढी रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८० मंसिर मसान्तसम्म कुल ६१ वटा उद्योग (उपभोक्ता)हरूले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको छ ।
जसमध्ये ९ वटा ठूला उद्योगहरूको लाइन काटेको प्राधिकरणले जनाएको छ । ९ वटा ठूला उद्योगहरूले करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता बाँकी छ । बक्यौता रहेका अन्य उद्योगहरूको लाइन क्रमशः विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
कोशी प्रादेशिक कार्यालय विराटनगरमा विभिन्न ७ वटा ठूला उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरी ३ अर्ब रुपैयाँ बराबरको बक्यौता रहेको छ । प्राधिकरणका अनुसार बाबा जुट मिल, रघुपती जुट मिल, उदयपुर सिमेन्ट उद्योग, रिलायन्स स्पिनिंग मिल्स, निगाले सिमेन्ट प्रालि., अरिहन्त मल्टीफाइवर लि., अरिहन्त पोलीप्याकको गरी कुल २ अर्ब ९७ करोड ९८ लाख ९८ हजार रुपैयाँ बक्यौता छ ।
मधेश प्रदेश कार्यालय जनकपुरमा विभिन्न २१ वटा उद्योगले ९ अर्ब ५४ करोड १७ लाख ११ हजार रुपैयाँ बराबरको बक्यौता रहेको छ । मारुती सिमेन्ट प्रालि.,डाबर नेपाल प्रालि., त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, हिमाल आइरन एण्ड स्टील, त्रिवेणी स्पिनीङ्ग मिल्स, नारायणी स्पात मिल्स, जगदम्बा स्टिल, जगदम्बा इन्टर प्राइजेज, अशोक स्टिल हुलास स्टिल, हामा आइरन, सूर्य नेपाल, एभरेष्ट पेपर मिल, कसमस सिमेन्ट फ्याक्ट्रीले बक्यौता तिर्न बाँकी छ ।
बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडाैं युनाइटेड सिमेन्ट प्रालि., शिवम् सिमेन्ट र हेटौडा सिमेन्टको गरी कूल २ अर्ब ६३ करोड ६६ लाख ७७ हजार रुपैयाँ बराबरको बक्यौता रहेको छ । लुम्बिनी प्रादेशिक कार्यालय बुटवल, डिभिजन कार्यालय नेपालगन्जमा कुल ७ अर्ब ८ करोड ७४ लाख ९० हजार रुपैयाँ बाँकी रहेको छ ।