भन्सारमा सशस्त्र राखेपछि रिसायो नेपाल प्रहरी
५ माघ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रु आगमन कक्षको सुरक्षा जाँचमा सशस्त्र प्रहरी परिचालन गरिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको छ । यसअघि निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँदै आएको थियो ।गृह मन्त्रालयले गत सोमबारबाट निजी सुरक्षाकर्मी हटाएर भन्सार सुरक्षा जाँच जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै कमान्डमा हुने गरी अन्तर्राष्ट्रिय टर्मिनल आगमन कक्षमा ३० सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
सुरक्षा जाँच थप प्रभावकारी बनाउन भन्सार प्रमुखकै कमान्ड हुने गरी सशस्त्र प्रहरी परिचालन गरिएको भन्सार विभाग महानिर्देशक शोभाकान्त पौडेलले बताए ।भन्सार तथा सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई यसअघि नै दिइएको हो, तर काठमाडौं विमानस्थल भन्सारमा हालसम्म सशस्त्र प्रहरी परिचालन भएको थिएन,’ महानिर्देशक पौडेलले भने, ‘अब सशस्त्रले नै सुरक्षा हेर्ने प्रबन्ध मिलाइएको छ । त्यसको कमान्ड भने भन्सार प्रशासनमा नै हुन्छ ।’