बिग्रिएको अर्थतन्त्र म आएर सुधारेँ – अर्थमन्त्री महत


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन ८ २०८०
3.1K
SHARES

८ फागुन काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्रलाई आफूले सुधारेको दाबी गरेका छन् । गोदावरीमा जारी महासमितिको बैठकमा उनले पेस गरेको प्रतिवेदनमा आफूले अर्थमन्त्रालय सम्हालेपश्चात खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको बाह्य क्षेत्रलगायतको सुधार भएको जिकिर गरेका छन् डा. महतले गत वर्ष २०७९ चैत १७ गते अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए ।

‘नेपाली कांग्रेसको तर्फबाट वर्तमान गठवन्धन सरकारमा प्रतिनिधित्व गरी हामी सरकारमा समावेश हुँदा र मैले अर्थमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन् । मैले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका अधिकांश विषयहरु कार्यान्वयनका क्रममा छन् ।’ डा. महतले पर्यटक आगमन, होटल र रेस्टुरेन्ट, निर्माण, उत्पादन, खुद्रा र होलसेल व्यापार बढेको संकेत देखिएको बताए । यस्तै विप्रेषण उल्लेखनीय रूपमा बढेको, विद्युत उत्पादन र निर्यात बढेको, घरजग्गा क्षेत्र केहि चलायमान हुने संकेत देखिएको, सार्वजनिक खर्च बढ्दोक्रमा रहेको उनले उल्लेख गरेका छन् ।
आगामी दिनमा पूँजीगत खर्च बढ्ने प्रतिनिधिलाई आश्वासन बाँडेका छन् । महतको प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न हामी प्रयत्नशील रहेका छौं । हाल बैङ्क तथा वित्तीय प्रणालीमा तरलता सहज रही लगानीयोग्य पुँजी पर्याप्त रहेकोले लगानीको लागत कम भै उत्पादन वृद्धि हुने अपेक्षा रहेको छ । साथै, जल विद्युत, पर्यटन, कृषिमा व्यवासायीकरण र सूचना प्रविधि उद्योगलाई संभावनाका क्षेत्रको रुपमा पहिचान गरी लगानी वृद्धि गर्ने नीति लिइएकोले दूरदराज र पिछडिएको क्षेत्रमा समेत पूर्वाधार, उत्पादन र रोजगारीका अवसर सिर्जना हुने छन् ।’

अर्थतन्त्रमा चुनौती कायम रहेपनि आर्थिक परिसूचक सुध्रिँदै गएको आधारसहित अर्थमन्त्री महतले पेश गरेको प्रतिवेदनका केही बुँदा-

-पर्यटन, घरजग्गा, पुँजीबजार, निर्माण, सेवा क्षेत्रका गतिविधिहरू चलायमान हुँदै गएका छन् ।

-चालू आर्थिक वर्षमा आर्थिक वृद्धि सन्तोषजनक रहने विश्व बैङ्कको प्रक्षेपण रहेको छ । नेपालको आर्थिक वृद्धि सन २०२३ र २४ मा ३.९ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण र सन् २०२५ मा ५ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण रहेको छ ।

-मुद्रास्फीति ६.५ प्रतिशतको वार्षिक लक्ष्यभित्रै रहेको छ ।

-चालू आर्थिक वर्षको पहिलो ६ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।

-बाह्य क्षेत्र सन्तुलन कायम भएको छ। साथै, विदेशी विनिमय सञ्चिति पर्याप्त छ ।

-चालु आर्थिक वर्षमा ९०० मेगावाट बराबरको जलविद्युत उत्पादन थप हुने अनुमान रहेको छ । यसबाट आर्थिक गतिविधिहरू थप गतिशिल हुँदै जाने अपेक्षा रहेको छ ।

-सन् २०२३ मा पर्यटक आगमन ६५.२ प्रतिशतले वृद्धि भई १० लाख नाघेको छ। जुन कोभिड पछिकै उच्च हो । साथै, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको छ ।

-वैदेशिक लगानी प्राप्तीमा सुधार हुँदै गएको छ । चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा ३ अर्ब ६४ करोड बराबरको वैदेशिक लगानी भित्रिएको छ। गत आर्थिक वर्षको कात्तिक महिनासम्ममा यस्तो लगानी ४३ करोडमात्र रहेको थियो ।

-प्रभावकारी मागको सिर्जना गर्न सरकारी खर्च बढाउने, लगानीका साधनको पर्याप्तता सुनिश्चित गराउने र निजी क्षेत्रको मनोवल बढाउने गरी नीतिगत तथा संस्थागत प्रयास भएका छन् ।

-अर्थतन्त्रले गति लिई आर्थिक क्रियाकलापहरुमा बिस्तार भएकोले मध्यमकालमा आर्थिक वृद्धिको लक्ष्य प्राप्तिको आधार तयार भएको छ ।

-निजी क्षेत्रसँगको निरन्तर संवाद र सुधारका प्रयासले यस क्षेत्रको मनोबलमा क्रमशः सुधार भएको छ ।

-बजेट अनुशासन कायम गर्न लिइएको प्रयासले साधनको प्राथमिकतापूर्ण परिचालनमा सहयोग पुगेको छ।

-मौद्रिक नीतिमा हाल गरिएको सुधारले आर्थिक वृद्धिलाई सहयोग पुग्ने अनुमान छ । वित्तीय प्रणालीमा लगानीयोग्य पूँजी पर्याप्त अवस्थामा रहेको छ, यसले आर्थिक वृद्धिलाई सघाउ पुर्‍याउने अपेक्षा छ ।

-उत्पादनमा आधारित अनुदान प्रणालीले अनुदानको उपयोगलाई सही दिशातर्फ निर्देशित गरेको छ ।

-अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालनमा नेपालको पहिचान बढेको छ ।