जलजलामा अध्यक्ष कप–२०८०


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २४ २०८०
3.3K
SHARES

२४ फागुन काठमाडौं । जलजला गाउँपालिकाले वडास्तरीय पुरुष भलिबल दोस्रो अध्यक्ष कप– २०८० सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले फागुन २६ र २७ गते जलजला खोलाखेत युवा क्लबको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।  यसअघि एकपटक अध्यक्ष कप सञ्चालन भएको र सो प्रतियोगितालाई निरन्तरता दिन दोस्रो भलिबल प्रतियोगिता आयोजना गर्न लागेको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने गाउँपालिकाका वडाभित्रका खेलाडीले वडाको सिफारिससहित दर्ता गराउन सक्ने छन् । टोली दर्ता गर्दा कुनैपनि शुल्क नलाग्ने अध्यक्ष आचार्यले बताए ।  उनका अनुसार प्रथम हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाण पत्र उपलब्ध गराइने छ । दोस्रो टोलीलाई ५० हजार ५५५ रुपैयाँ, तेस्रो हुने टोलीलाई ३० हजार ३३३ रुपैयाँ तथा चौँथोलाई १० हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र उपलब्ध गराउने उनले जानकारी दिए ।

प्रतियोगितामा सहभागिता जनाएका अन्य टोलीलाई ५ हजार ५५ रुपैयाँ गाउँपालिकाले पुरस्कारस्वरुप उपलब्ध गराउने उनले  बताए । खेलकुदमा स्थानीयको आकर्षण बढाउन सहभागी टोलीलाई समेत नगद पुरस्कारको व्यवस्था गरेको उनको भनाइ छ ।