बिहादी गाउँपालिकाले निःशुल्क लोकसेवा र शिक्षासेवा तयारी कक्षा संचालन गर्ने


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २४ २०८०
2.6K
SHARES

२४ फागुन काठमाडौं । पर्वतको बिहादी गाउँपालिकाले पालिकाभित्रका युवालाई निःशुल्क लोकसेवा र शिक्षासेवा तयारी कक्षा संचालन गर्ने भएको छ । लोकसेवाको निःशुल्क कक्षा संचालन गर्ने भन्दै १७ फागुनमा निवेदन दिन सूचना निकालेको पालिकाले आज  कक्षा लिन चाहनेका लागि गुगल फारामसमेत सार्वजनिक गरेको छ ।

पालिकाले यस्तो पढाइ अनलाईनमार्फत हुने भनेको छ । इच्छुकले १५ दिनभित्र पालिकाले उपलव्ध गराएको फाराम भरेर बुझाउन सक्नेछन् । ग्रामीण क्षेत्रमा रहेका पालिकामा कर्मचारी सरुवा भएर आउन नमान्ने र आइहाले पनि लामो समय नबस्ने समस्या भएपछि स्थानीय जनशक्ति नै तयार गर्ने उद्देश्य यस्ता कक्षा सञ्चालन गर्न लागिएको पालिकाको भनाइ छ ।

महाशिला गाउँपालिकाले पनि लोकसेवा र शिक्षक सेवा आयोगको निःशुल्क कक्षा लिइरहेको छ । गत माघबाटै कक्षा सुरु गरेको महाशिलाले   पालिकाभित्रका युवायुवती, विद्यार्थी तथा योग्यता पुगेका २५ जनालाई पढाइरहेको बताएको छ ।

बिहादीले लोक सेवा आयोगले लिने नायब सुब्बा र खरिदारको तयारी कक्षा सञ्चालन गर्न लागेको छ । निजामती सेवा अप्राविधिकतर्फका नायब सुब्वा, खरिदार तथा संस्थान तर्फका प्रथम पत्रलाई सहयोग पुग्ने उद्देश्यका साथ निःशुल्क कक्षा शुरु गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुषालले जानकारी दिए । सहभागीलाई जिल्लाभित्र एवं बाहिर रहेका निजामती सेवामा आवद्ध एवं अनुभवी प्रशिक्षकबाट प्रशिक्षण दिइने पालिकाले जनाएको छ ।