ठाकुरबाबा नगरपालिकामा करारका कर्मचारी कटौती


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ७ २०८०
1.5K
SHARES

७ चैत काठमाडौं । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले करारका कर्मचारीलाई चैतदेखि हाजिर गर्नबाट रोक लगाएको छ । विगत ८ वर्षदेखि नगरपालिकामा मेलमिलापकर्ताका रूपमा कार्यरत राधा आचार्यलाई मेयर र उपमेयरले फरक पार्टी भएको कारण चैत १ गतेबाट काम गर्नबाट रोक लगाएका हुन् ।  ठाकुरबाबा नगरपालिकामा मेयर तिलकराम लम्साल नेपाली कांग्रेस र उपमेयर विना कुमारी भट्टराई एमालेका हुन् । हाजिर हुनबाट रोकिएकी कर्मचारी राधा भने माओवादी केन्द्रको नगरकमिटी अध्यक्ष नेत्रराज आचार्यकी पत्नी हुन् । आचार्य स्थानीय तह निर्वाचनमा उम्मेदवार समेत बनेका थिए ।२०७२ सालदेखि कार्यरत राधाले पछिल्लो समय नगरपालिकाले पूर्वााग्रह राखेर विभिन्न बहानामा आफूलाई दुःख दिने गरेको आरोप लगाइन् । उनी तत्कालीन ठाकुरद्वारा गाविसमा मेलमिलापकर्ता नियुक्त भएकी थिइन् । २०७४ मा विभिन्न गाउँपालिका मिलेर ठाकुरबाबा नगरपालिका बनेपछि पनि मेलमिलापकर्ताहरूलाई निरन्तरता दिने निर्णय भएको थियो ।२०८० साउन २७ गते सम्पूर्ण मेलमिलापकर्ताको करार नवीकरण नगर्ने निर्णय भएपछि राधाले उच्चअदालत नेपालगन्जमा रिट निवेदन दायर गरेकी थिइन् । अदालतको अन्तरिम आदेशपछि उनले २०८१ असार ३० सम्मका लागि करार नवीकरण प्राप्त गरिन् ।

अदालतले माघ १० गते सो प्रकरणमा आदेश गर्दै उक्त पदमा लोक सेवा आयोगबाट स्थायी नियुक्ति नहुँदासम्म करारका कर्मचारीलाई नहटाउन भनेको छ । तर ठाकुरबाबा नगरपरिषदले नै करार नवीकरण नगर्ने निर्णय गरेपछि विवाद सतहमा आएको हो ।राधाले आफ्नो श्रीमान् फरक पार्टीका भएको कारण नै राजनीतिक पूर्वाग्रह राखेर आफूलाई दुःख दिने गरिएको बताइन् । उनले अदालतको आदेशलाई समेत उल्लङ्घन गर्दै चैतबाट हाजिरमा रोक लगाएको बताइन् । यसविरुद्ध आफू फेरि अदालतमा जाने उनको भनाइ छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले मन्त्रालयले पठाएको सिलिङमा उक्त पद नभएको जिकिर गरे ।