मलाई नेतृत्वले घुम्तीमा धकेलेको महशुस गरेको छु – नेता रावल
३१ जेठ काठमाडौं । एमालेका नेता भीम रावलले न एमालेमा जिम्मेवारी पाए न पार्टीबाट अलग । साढे दुई वर्षयता जिम्मेवारीविहीन छन् ।०७८ मंसिरमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीको प्रतिष्पर्धी बन्नु नै उनका लागि भारी पारियो । त्यसको ‘सजाय’ अहिले खेप्दैछन् । त्यसो त, अध्यक्षमा ओलीसँग चुनाव हारेपछि उनले केन्द्रीय सदस्य पनि अस्वीकार गरे । त्यसयता रावल पार्टीमा उपर्युुक्त जिम्मेवारीको खोजीमा नै छन् । एक महिनाअघि मात्र उनले एक कार्यक्रममा एमालेले आफूलाई निषेध गरेर राजनीतिक जीवनको ‘मोड’मा पुर्याएको निष्कर्ष सुनाएका थिए ।
एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई नबोलाइएकामा आक्रोश पोख्दै रावलले आफूलाई पार्टीबाट धकेल्न खोजेको आरोप लगाएका थिए । महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा भएको थियो । “उहाँहरुले जुन प्रकारले व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने राजनीतिक जीवनको मोडमा धकेलिएको जस्तो महसुस भएको छ । एउटा घुम्तीमा पुगेजस्तो महसुस गरेको छु ,” रावलले भनेका थिए । उनकै शब्दमा, “सामान्य जीवनमा पनि घुम्तीमा पुग्यौं भने त्यो घुम्तीबाट अर्को मोडमा लाग्छ । कतै उहाँहरुले मलाई त्यो घुम्तीमा घचेटेर अर्को मोडमा जाओस् भन्ने दुरासयका साथ यो काम गरिरहेको हो कि ? भन्ने मैले महसुस गरेको छु ।” उनले घुम्तीबाट कता जाने भन्ने तय भने गरिसकेका छैनन् ।